दिनहुँजसो राजनीतिक कर्ममा समय बिताउने गण्डकी गाउँपालिका ४ फुजेलका जीतबहादुर भट्टको दैनिक अहिले फेरिएको छ । सधँै बिहान उठ्ने बित्तिकै गाउँमा सभा, सम्मेलन, बैठक र भेलामा दौडिने उनी आजभोलि ती सबै काम छोडेर घर नजिकै सुरु गरेको अकबरे खुर्सानीको खेती गरेको ठाउँमा पुग्छन् ।
अलिअलि कमाएको पैसा पनि राजनीति गर्दागर्दै सकिएपछि ऋण डुबेका भट्टले अहिले गाउँमै करिब १ सय १७ रोपनी क्षेत्रफल जमिन भाडामा लिएर अकबरे खुर्सानीको व्यावसायिक खेती थालेका छन् ।
यो अकबरे खुर्सानीको खेती प्रदेशभित्र निजीस्तरमा ठूलो क्षेत्रफलमा गरिएको अहिलेसम्मकै ठूलो अकबरे खुर्सानीको व्यावसायिक खेती हो । ‘व्यापार र राजनीतिले जीवनको सबै कमाई गुमाएपछि म आफ्नै गाउँ फर्किएर व्यावसायिक कृषि पेसा सुरु गरेको छु’, उनले भने, ‘अब राजनीतिभन्दा कृषि पेसामा नै बढी आनन्द आउन थालेको छ ।’
उनले अकबरे खेती सुरु गरेसँगै प्रदेशस्तरमा तालिम लिने अवसर पाए । तालिममा सहभागी क्रममा प्रदेशमा अहिलेसम्म त्यति ठूलो स्तरमा निजी क्षेत्रबाट अकबरे खुर्सानीको व्यावसायिक खेती अन्यत्र नभएको जानकारीसमेत पाएपछि आफूमा झनै उत्साह बढेको उनको भनाइ छ । किसान भट्टले व्यावसायिक रूपमा खेती सुरु गर्नका लागि आफ्नोसँगै सहित छिमेकीको जमिन भाडामा लिएका छन् । राजनीतिमा समेत लागेर लामो समयसम्म काम गरेका उनले राजनीतिले खान नदिने भएकाले अहिले कृषि कर्ममा जोडिएको जनाए ।
‘गोरखा र काठमाडौंमा समेत व्यापार थियो तर राजनीतिले सबै सकियो’, उनले भने, ‘केही उपाय नभएपछि अहिले फेरि गाउँ फर्किएँ र कृषि पेसा सुरु गरेँ ।’ उक्त जमिनमा करिब ७५ हजार बेर्ना लगाएकामा करिब ४६ हजार बोटमा उत्पादन सुरु भएको छ । ‘सारेकामध्ये २९ हजार बेर्ना सरेनन्,’ उनले भने, ‘सरेका बोटहरूबाट अहिले राम्रो उत्पादन हुन थालेको छ ।’ भाडामा लिएको जमिनमध्ये खुर्सानी नसरेको ठाउँमा अदुवा र बेसार खेती गरिएको छ ।
एक पटक हुर्किएको खुर्सानीको बोटबाट ३ वर्षसम्म राम्रो आम्दानी लिन सक्ने किसान भट्टले जानकारी दिए । ‘बारीमा पस्दा राता हरिया खुर्सानी लटरम्म फलेको देख्दा मन पनि आनन्द हुन्छ’, उनी भन्छन्, ‘खुर्सानी बेचेर आम्दानीसमेत राम्रो हुन थालेको छ ।’
उनले आफ्नो बारीमा उत्पादन भएको खुर्सानी चितवनको मुग्लिनमा रहेको थ्री सिस्टर अचार कम्पनीले खरिद गर्न थालेको छ । प्रतिकेजी २ सय ५० देखि २ सय ७५ सम्ममा खुर्सानी बिक्री हुने उनले सुनाए । बजार भाउ पनि राम्रो भएकाले आम्दानी पनि राम्रो हँुदै गएको उनको भनाइ छ । व्यावसायिक खेती सुरु गरेसँगै अकबरे खुर्सानी बेचेर वार्षिक ५० लाखसम्म आम्दानी गर्ने आफ्नो लक्ष्य रहेको किसान भट्टले बताए ।
यस वर्ष भने जेठको अन्त्यदेखि अत्यधिक पानी परेकाले खुर्सानी उत्पादन राम्रो भएन । ‘जेठको अन्तिम सातादेखि ठूलो वर्षा नभएको भए यो वर्ष नै राम्रो आम्दानी हुन्थ्यो,’ उनी थप्छन्, ‘अर्को वर्ष आफूले लक्ष्य लिएको जति आम्दानी गर्न सक्छु भन्ने लागेको छ ।’ उनले मकवानपुरको पालुङ र हेटौँडा तथा इलामबाट बीउ मगाएर आफैँले नर्सरीमार्फत बेर्ना उत्पादन गरेका हुन् ।
‘खुर्सानीको व्यावसायिक खेती सुरु गरेपछि मैलेमात्र आम्दानी गरेको छैन,’ उनी भन्छन्, ‘स्थानीय गाउँहरूले समेत रोजगारी पाएका छन् ।’ अहिले बारीमा स्थानीयवासी ७ देखि १० जनाले रोजगारी पनि पाएका छन् । उनले वर्षौंदेखि निष्क्रिय रहेको गाउँकै कालिका कृषक समूह नामको फर्मलाई नवीकरण गरी व्यावसायिक कृषि थालेका हुन् । रासस




