नेपाली कांग्रेस कास्कीले अधिवेशनका बेला हुने भड्किलो प्रचारमा रोक लगाएको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा मंगलबार बसेको बैंठकले यस्तो निर्णय गरेको हो ।
अब कुनै पनि उम्मेद्वारले भड्किलो तवरले प्रचार सामग्रीको प्रयोग गर्न नपाउने कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । ‘उम्मेद्वारले आफ्नो परिचयका लागि व्यक्तिगत रुपमा एउटामात्रै सामग्री घाँटीमा झुन्ड्याउन सक्ने छन्’, प्रवक्ता सिग्देलले भने, ‘त्यसबाहेकका प्रचार सामग्री प्रयोग गर्न पाइने छैन ।’
निर्वाचनस्थलमा उम्मेद्वारसँग सम्बन्धित प्लेकार्ड र पर्चा वितरण गर्न पनि पाइने छैन भने ब्यानर प्रदर्शनसमेत रोक लगाइएको छ । पार्टीको आन्तरिक निर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन पार्टीले त्यस्तो निर्णय गरेको प्रवक्ता सिग्देलको भनाइ छ । बैठकले कार्यसमितिका ११ आमन्त्रित सदस्यलाई पूर्ण सदस्यमा मनोनयन गरेको छ ।




