अन्तर्राष्ट्रिय साहित्य समाज केन्द्रीय समिति वासिङटन डिसीको आयोजनामा पोखरामा शनिबार पर्यटन साहित्य उत्सव भएको छ । सराङकोटमा आयोजित उत्सवका बीच कृति लोकार्पण, चर्चा परिचर्चा, रचनावाचन लगायतका गतिविधि भए ।
साहित्य र पर्यटन एक अर्काका पर्याय भएकाले अनेसासले यस्ता उत्सव विभिन्न समय र स्थानमा सञ्चालन गर्दै आएकोमा यस पटक पोखराको सराङकोटमा आयोजना गरिएको ट्रस्टिज सदस्य ऋषि बरालले बताए ।
उत्सवको पहिलो सत्रमा अनेसासका बोर्ड अफ ट्रस्टीज सदस्य साहित्यकार तीर्थराज अधिकारीका ‘जूनका टुक्राहरू’ अंग्रेजी–नेपाली मुक्तकसङ्ग्रह र अधिकारीकै साधनाको स्वर्ण वर्ष पुगेका सन्दर्भमा प्रकाशन भएको ‘साधनाको स्वर्ण वर्ष ः मुक्तकमणि तीर्थराज अधिकारी’ २ कृति लोकार्पण गरिए ।
संस्कृतिकर्मी तीर्थ श्रेष्ठले दुवै कृति लोकार्पण गर्दै स्रष्टामा असल भावनाको विकास हुने हो भने प्राप्ति खोजको विषय नहुने धारणा राखे । स्रष्टाको सम्मान जिउँदैमा हुनुपर्छ भन्ने धारणामा जोड दिँदै श्रेष्ठले तीर्थराज अधिकारीको साधनाको वास्तविक सम्मान भएको बताए ।
अनेसासको पर्यटन साहित्य उत्सवका सन्दर्भमा श्रेष्ठले सरकारले बुझ्न नसकेको वाङ्मयिक सामथ्र्यलाई यस्तै संघ, संस्थाका सत्प्रयासले मलजल गरेर जीवन्तता प्रदान गरेकोमा खुसी व्यक्त गरे ।
अनेसासका केन्द्रीय सल्लाहकार सुमल गुरुङले अनेसासका विविध सम्मान, पुरस्कार, सभा, सम्मेलन, उत्सव र महोत्सवका बारेमा प्रकाश पार्दै अनेसास भाषा, कला र साहित्यको उत्थानका लागि क्रियाशीलमात्र नरहेर पर्यटन र साहित्यलाई सिक्काका दुई पाटा बनाएर अगाडि बढ्दै आएको संस्थाका रुपमा चिनाए ।
‘साधनाको स्वर्ण वर्ष ः मुक्तकमणि तीर्थराज अधिकारी’को समीक्षा गर्दै डा. जगन्नाथ रेग्मीले
अधिकारीको जीवनयात्रालाई बुझ्न सन्दर्भ सहायक सामग्री हुने धारणा राखे । अधिकारीले लेखन सुरुआत् गरेको ५० वर्ष सन्दर्भमा प्रकाशन गरिएको केन्द्रीय समितिको प्रकाशन, असफल गौतम र कल्याण पन्तको सम्पादन रहेको ग्रन्थ उत्कृष्ट रहेको उल्लेख गरे ।
जूनका टुक्राहरूमाथि समीक्षा गर्दै डा. भूमिराज बस्ताकोटीले अंग्रेजी–नेपालीमा लेखिएको कृति व्यङ्ग्यचेत र आलङ्कारिक शैलीले उत्कृष्ट रहेको बताए ।
कृति भोजराज न्यौपानेको अनुवाद गरेका हुन् । डा. बस्ताकोटीले द्विभाषी कृति अनुवाद साहित्य वर्तमानको आवश्यकता रहे तापनि शब्दानुवादले मात्रै त्यसको मर्म आत्मसात गर्न नसक्ने विचार राखे ।
उत्सवको दोस्रो सत्रमा गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेल, ठाडो भाका लोककला प्रतिष्ठानका संरक्षक बुद्धिमान गुरुङ ‘धम्पु’, गीताञ्जली साहित्य परिवारका अध्यक्ष रामनाथ अधिकारी संगी, पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष दीपक समीप, गजल सन्ध्या पोखराका पूर्व अध्यक्ष रुपिन्द्र प्रभावी, मुक्तक मञ्च पोखराका अध्यक्ष रामजीप्रसाद आचार्य, हेमजा साहित्य प्रतिष्ठानका उपाध्यक्ष बलराम पौडेल, जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका महासचिव मदन भण्डारी, डागर स्मृति प्रतिष्ठानकी संरक्षक रमा पराशर, अनेसास गण्डकी कोषाध्यक्ष गीता तिवारी, पाठ्यक्रममा मुक्तक अभियानका सचिव नवीन भण्डारी, पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक सुरज पौडेल, साहित्यकार सावित्री गिरी, सुवास पौडेल लगायतले आफ्ना धारणा र रचना प्रस्तुत गरेका थिए ।
उत्सवको तेस्रो सत्रमा सहभागी स्रष्टालाई सम्मान, कृतिकार, सम्पादक, व्यवस्थापकको मन्तव्य, चम्फा रानाभाट, सीता दुरा, बुद्धिमान दुरा थम्पुको सांस्कृतिक प्रस्तुति रहेको थियो । उक्त सत्रमा कृतिकार तीर्थराज अधिकारीको मन्तव्य वाचन गरेर सुनाइएको थियो । यस्तै साधनाको स्वर्ण वर्ष ः मुक्तकमणि तीर्थराज अधिकारीका सम्पादक कल्याण पन्त, कार्यक्रम संयोजक असफल गौतमले बोलेका थिए ।
अनेसास गण्डकी अध्यक्ष दुर्गा शाह ‘बाबा’को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दुर्गा न्यौपानेले समेत बोलेकी थिइन् ।





