नागरिकका अपेक्षााप्रति राज्यको उदासिनताका कारण आम नागरिकमा छाउने नैराश्य, बाध्यता, विवशता, राज्यप्रतिको वितृष्णाको उपज हो प्रतिभा पलायन । एउटा नवयुवाले आफ्नो सुन्दर भविष्यको परिकल्पना आफ्नै देशमा किन गर्न सकिरहेको छैन ? यो मुलुकको समृद्धिमाथिको यक्ष प्रश्न हो ।
विश्वव्यापीकरण, इन्टरनेट कनेक्टिभिटी, ग्लोबल भिलेजको अवधारणा जस्ता विकासका आयामले समग्र विश्वलाई एकाकार गरिरहेको परिवेशमा उच्च गुणस्तरको शिक्षाको भोक, आफ्नो ज्ञान, सीप र क्षमता अनुरुपको रोजगारीको खोजी, अवसरको खोजी, आधुनिकता प्रतिको आकर्षणले उच्च दक्षतायुक्त, मुलुकको समृद्धिको संवाहक बन्न सक्ने युवा प्रतिभाको पलायन समकालीन समाजमा डरलाग्दो देखिएको छ ।
अध्ययन, अनुसन्धान, अनुभवका लागि केही समय विदेश गई आफ्नो ज्ञान, सीप र क्षमतामा थप निखारता (ब्रेन गेन) ल्याउने अल्पकालीन ब्रेन ड्रेन(प्रतिभा पलायन) लाई उपयुक्त मानिएता पनि हाम्रो परिवेशमा उच्च ज्ञान, सीप र दक्षतायुक्त युवा र प्राविधिक जनशक्तिको पहिलो आकर्षण अमेरिका, अष्ट्रेलिया र युरोपका देश हुने गरेको पाइन्छ । जसमा अपवादबाहेक उनीहरु आफ्नो ऊर्जाशील समयमा स्वदेश फर्कदैनन् ।
विगतमा ब्रेन ड्रेनको प्रमुख कारण सशस्त्र द्वन्द्व र राजनीतिक अस्थिरतालाई लिइयो । शान्ति र स्थिरतापश्चात पनि द्वन्द्वले रित्तिएका गाउँ भरिएनन् । कृषि क्षेत्रको व्यावसायीकरण चुनावी मसलामात्रै बन्यो । लगानीको वातावरण नबन्दा अवसरहरु सिमित बन्न पुगे । प्रिम्याचुअर औद्यगिकरणले औद्योगिक क्षेत्रमा पर्याप्त अवसर सृजना गर्न सकेन । निजी क्षेत्र उत्पादनमा सक्षम नभई बिचौलिया व्यापारमा रमाउदा रोजगारीका अवसर सिमित बन्न पुगे । भएका अवसरमा पनि नातावाद। कृपावाद र राजनीतिक पार्टीको झोला नबोकी अवसर प्राप्त गर्न कठिन हुने अवस्था सृजना भयो । राजनीतिक क्षेत्रले नगिजोलेको कुनै क्षेत्र रहेन, जसले गर्दा उच्च प्राविधिक ज्ञान, सीप र क्षमतायुक्त व्यावसायिक व्यक्तिहरु आत्मसम्मान दाउमा राखी राजनीतिको झोले बनेमात्र अवसर पाइन्छ, नत्र सम्भावना छैन भन्ने निष्कर्षमा पुगे ।
सन्तति विदेशमै रहनु, विदेशको पिआर वा पासपोर्ट प्राप्त गर्नुलाई गौरव, समृद्धि र सम्मानको मानकको रुपमा हेर्ने सामाजिक चरित्र विकास भएको छ
राजनीतिक स्थिरता र द्वन्द्वको अन्त्यसँगै सरकारले ब्रेन गेन सेन्टर स्थापना ग¥यो परराष्ट्र मन्त्रालयले समृद्धिका लागि पलायन जनशक्ति आकर्षित गर्न देश फर्कौ अभियान पनि सञ्चालन ग¥यो तर बिना नीति र योजना सञ्चालन गरिएका यी योजना फलदायी हुन सकेनन् । राजनीतिक स्थिरताले पनि प्रवासी नेपालीलाई समृद्धिका लागि नेपाल फर्कन (रिभर्स ब्रेन डे«न) को वातावरण सृजना गर्न सकेन ।
वर्तमान समयमा त झन् आफ्ना सन्तति विदेशमै रहनु, विदेशको पिआर वा पासपोर्ट प्राप्त गर्नुलाई गौरव, समृद्धि र सम्मानको मानकको रुपमा हेर्ने सामाजिक चरित्र विकास भएको छ ।
क्षमतायुक्त जनशक्तिको पलायनले एकातर्फ उनीहरुलाई क्षमतायुक्त बनाउन राज्यले गरेको लगानी वालुवामा पानी बन्न पुगेको छ । नेपालले लाखौं खर्च गरेर तयार गरेको जनशक्ति अरुको मुलुक बनाउन तल्लीन छ । अर्कोतर्फ उनीहरु स्वदेशमै रहने हो भने आफूमात्र रोजगार नभई अन्य कैयौंलाई रोजगार सृजना गर्ने क्षमता राख्छन् । मुलुक उक्त अवसर उपयोग गर्नबाट चुकेको छ । पलायन भएको जनशक्तिसँग भएकै क्षमताका लागि परामर्शदाताका नाममा विदेशी भित्र्याउनु पर्दा पुँजी पलायन पनि उत्तिकै रहेको छ । क्षमतावान युवाको पलायन, कोरा युवाको गन्तव्य खाडी र मलेसिया बन्दा गाउँमा बुढाबुढीमात्रै रहेको, खेतीयोग्य जमिन बाँझै रहेको, उपभोगमा वृद्धि भएको, आयात झन बढेको र मुलुक झन परनिर्भर बन्दै गएको अवस्था छ भने समाज सिर्जनशीलता र ऊर्जा वेगरको भुत्ते बन्ने सम्भावना पनि उत्तिकै देखिन्छ ।
विज्ञान र प्रविधिको एक्काइसौं शताब्दीमा मुलुकको समृद्धिको आधार तीनै क्षमतावान युवा हुन् । विकास र समृद्धिका वाहक ब्रेनलाई मुलुकमै रोक्ने सम्बन्धमा संसद, सरकार र राजनीतिक दलमा सामान्य बहस, छलफलसमेत भएको पाइँदैन । हरेक युवाको चाहना पक्कै हुन्छ, आफ्नै देशमा बसौं, आफ्नै माटोमा रमाऔं, आफ्नै मुलुकको समृद्धिको सारथि बनौं । तर विडम्बना आफ्नै मुलुकमा आफ्नो सुन्दर भविष्यको परिकल्पना गर्न नसक्दा विद्यालय शिक्षा पूरा गर्दा नगर्दै राहदानी बनाउने र विदेश भासिने क्रम रोकिएको छैन ।
अबको बाटो
राज्यले सबैलाई रोजगारी दिन सक्दैन । राज्यले वातावरण तयार गरिदिने हो । यसका लागि मुलुकमा सर्वप्रथम काम गर्ने वातावरण बन्नुपर्छ । मुलुकमा पर्याप्त अवसरको सृजना हुनुपर्छ । अध्ययन र अनुसन्धानका क्षेत्रमा पर्याप्त लगानी बढाउनुपर्छ । तीनै तहका सरकारका बजेटमा अनुसन्धान र विकासका कार्य प्राथमिकतामा नपर्ने विडम्बनापूर्ण अवस्था अन्त्य हुनुपर्छ । सार्वजनिक संस्थान, राजनीतिक नियुक्ति हुने विज्ञ पदहरु, निजामती सेवा र विश्वविद्यालयका प्रध्यापकमा विदेशमा अध्ययन गरी अत्याधुनिक ज्ञान, सीप र क्षमता विकास गरेको जनशक्तिलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने हो भने रिभर्स ब्रेन गेन सम्भव हुने देखिन्छ ।
पर्याप्त स्वदेशी र विदेशी लगानी नभिœयाई ठूलो संख्यामा रोजगारी सृजना हुन सक्दैन । यसका लागि राज्यको भूमिका लगानीमा अड्चन हटाई सहजीकरण गर्ने खालको हुनुपर्छ । औद्यगिक पूर्वाधारसहितको औद्योगिक वातावरण, व्यावसायिक संस्थागत निजी क्षेत्रको विकास गरी औद्योगिक क्षेत्रमा पर्याप्त रोजगारीको अवसर सृजना गर्नुपर्छ । उद्यमशीलता र नवप्रवर्तनका नाममा दलका कार्यकर्तालाई पैसा बाड्ने मोडलबाट उत्पादित वस्तु तथा सेवाको बजारको ग्यरेन्टी गर्नेतर्फ मात्रै राज्यले सोचिदिने हो भने परिस्थिति भिन्न बन्छ ।
क्षमतावान् जनशक्तिलाई अवसर प्राप्तिको एकमात्र मापदण्ड व्यक्तिको योग्यता र क्षमता हो भन्ने कुरामा राज्यबाट विश्वस्त बनाउन नसक्दासम्म पलायन जनशक्ति मुलुक फर्कने र जनशक्ति पलायन रोकिने सम्भावना रहदैन । अन्यथा आयात गर्नुपर्ने दक्ष जनशक्ति निर्यात गरी वस्तु तथा सेवा आयात गर्ने उल्टो बाटोबाट समृद्धि सम्भव छैन ।




