कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने १२ औं राष्ट्रिय जनगणनाबारे तमु धी नेपालले पोखरामा सोमबार अभिमुखीकरण आयोजना गरेको छ । हरेक १० वर्षमा हुने राष्ट्रिय जनगणनालाई मेरो गणना, मेरो सहभागिता नाराका साथ तमुलाई सचेतताका साथ सक्रिय सहभागिताका लागि कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले राष्ट्रिय जनगणनालाई पहिचान र अधिकारको अभियान बनाउनुपर्ने बताइन् । जनगणना आधारसँग तथ्यगत महत्व राख्ने भएकाले सचेतनापूर्वक महाअभियानका रुपमा तमुहरु जुट्नुपर्ने उनले बताइन् । जनगणनाले नीति निर्माण, योजनासहितमा विशेष प्रभाव पार्ने भएकाले १२ औं जनगणनालाई नमुना बनाउनुपर्ने उनको भनाइ छ ।
प्रदेश जनगणना कार्यलयका सुरेन्द्रराज पौडेलले सरकारले गर्नुपर्ने अभिमुखीकरण संस्थाले आयोजना गरेकोमा धन्यवाद दिए । उनले जनगणनाको महत्व, जनगणनाको प्रश्नावली, तमुहरुको विगतको जनसाँख्यिक तथ्यांकबारे प्रष्ट्याए । १२ राष्ट्रिय जनगणनाको लक्ष्य गुणस्तरीय जनगणना भएको उनले बताए । व्यक्तिगत, पारिवारिक, सामाजिक, सांस्कृतिक, आर्थिक, जनजीवनको यर्थाथ विवरण जनगणनाले प्रस्तुत गर्ने उनले उल्लेख गरे ।
आदिवासी अधिकार अभियन्ता अमृत गुरुङले राज्यले तथ्यांक आफ्नो अनुकूलमा प्रयोग गरिरहेको दाबी गर्दै आन्तरिक गोपनियताको अधिकारलाई सुनिश्चित रहने गरी तथ्यांक उपलब्ध गराउनुपर्ने बताए । जनगणनाको व्यक्तिगत विवरणमा सोधिन प्रश्न पहिचानसँग विशेष जोडिने भएकाले गुरुङहरुको समुदायगत एकै उत्तर हुनुपर्ने उनको सुझाव छ ।
जातजातिमा गुरुङ, पुर्खाको भाषामा गुरुङ, मातृभाषामा गुरुङ, दोस्रो भाषामा तामाङ, थकाली, मगर, नेवार लगायत आदिवासीका भाषा र धर्ममा बौद्ध वा बोन लेख्न लेखाउनपर्ने गुरुङले बताए ।
तमु धीं नेपाल अध्यक्ष हुमबहादुर गुरुङले राष्ट्रिय जनगणनाको महत्वलाई मनन गर्दै महाअभियानको रुपमा गाँउ बस्ती, टोलटोल, घर घर, व्यक्तिव्यक्तिलाई सचेत र सुसूचित गर्नुपर्ने बताए । १० वर्षमा हुने जनगणनाको तथ्यांकले दीर्घकालीन प्रभाव पार्ने भएकाले सत्य, तथ्यका लागि तमु समाजहरुले टोल टोलमा स्वयमसेवक खटाई सहयोग गर्ने आग्रह गरे । कार्यक्रममा तमु धीका महासचिव जुनाकुमारी गुरुङले पनि बोलेकी थिइन् ।
सो अवसरमा बगर तमु समाजमा नवनिर्वाचित अध्यक्ष पदमबहादुर गुरुङसहित समाजका कार्यसमिति र आमा समितिलाई बधाई ज्ञापन गरिएको थियो भने कोल्माबहाकोट तमु समाजका अध्यक्ष सु.भोजबहादुर गुरुङ नेकपा एमाले पोखरा १५ को वडा कमिटीमा निर्वाचित, केन्द्रीय आमा समिति सहसचिव बालकुमारी गुरुङ वडा नं.११ का सहसचिव, युवा विभागका मानार्थ सहसंयोजक नेपाली कांग्रेस पोखरा महानगर समिति सदस्य एवम वडा नं.४ सचिवमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरिएको थियो ।
यसरी नै कार्यक्रम तमु ह्युला धिं तालबेसीलाई भवन निर्माणका लागि तमु धीं नेपालको तर्फबाट ५० हजार रुपैयाँ र हिमाली गुरुङ परिवारका सदस्य क्यान्सर पीडित आसबहादुर गुरुङलाई आकस्मिक राहतकोषबाट २५ हजार सहयोग गरिएको थियो ।






