गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीद्वारा सोमबार पोखरामा विजयादशमी, दीपावली, छठलगायत पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले प्रेस स्वतन्त्रतालाई अंकुस लगाउने कुरामा सरकार जान नसक्ने स्पष्ट पारे ।
पूर्ण प्रेस स्वतन्त्रता संविधानमा नै उल्लेख भएको जनाउँदै उनले प्रदेशमा बन्ने कुनै पनि ऐन तथा कानून यसका विरुद्धमा हुन नसक्ने उल्लेख गरे । सरकारका कामकारबाही एवं गतिविधिका सम्बन्धमा प्रेस जगतबाट तथ्यगत समारचाको अपेक्षा गरिएको जनाउँदै उनले आफूहरूले तारिफ नचाहेको सुनाए ।
प्रदेशका अर्थमन्त्री रामजी बराल जीवनले राष्ट्रिय एकता अहिलेको आवश्यकता भएको जनाउँदै अहंकार र घमण्डले केवल दुर्दशा तथा अस्थिरता ल्याउने बताए । नेपालीका यी महान चाडले राष्ट्रिय एकता कायम गर्ने उनको भनाइ छ ।
शिक्षा, संस्कृति, विज्ञान तथा प्रविधिमन्त्री मेखलाल श्रेष्ठले सरकार प्रदेशवासीलाई खोपको व्यवस्थाका साथै बाढीपहिरो एवं प्राकृतिक विपत्तिको उद्धार, राहत आदिमा क्रियाशील बनेको बताए ।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारीले पत्रकारिता क्षेत्रलाई राज्यले चांैथो अंगका रुपमा स्थापित गरे पनि अझै कतिपय स्थानमा समाचार लेखनकै सन्दर्भमा डर तथा धम्की सामना गर्नुपर्ने अवस्था रहेको जनाइन् । पत्रकारमैत्री वातावरण निर्माण हुनुपर्नेमा जोड दिँदै उनले पत्रकारले पनि सत्यतथ्यमा आधारित भई समाचार संकलन र सम्प्रेषण गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा प्रदेशसभा सदस्य एवं नेकपा (एमाले) कास्की अध्यक्ष कृष्ण थापा, नेपाली कांग्रेस कास्की सभापति कृष्ण केसी, नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष रामप्रसाद तिमल्सिना, सचिव माधव बराल लगायतले बोलेका थिए ।




