ढुंगेसाघु पर्यटन स्थल संरक्षण समिति पोखरा १७ को आइतबार भएको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले शिवराम भण्डारीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ ।
उपाध्यक्षमा सीता काफ्लो, सचिव सुरेन्द्र गिरी, सहसचिव यामबहादुर राना र कोषाध्यक्ष लेखनाथ चालिसे छन् । यस्तै, सदस्यमा इशरा थापा, मुक्ति भण्डारी, सुजन गुरुङ, विक्रम भण्डारी, जूना गुरुङ र दीपक भण्डारी शर्मा चुनिए ।
कार्यक्रममा सांसद विद्या भट्टराई अधिकारीले ढुंगेसाँघु क्षेत्रको बृहत्तर विकासका लागि पहल गर्ने प्रतिवद्धता जनाइन् । उनले सेती गर्गेजलाई पर्यटकीय स्थलका रुपमा विकास गरी पोखराले लाभ लिनुपर्ने बताइन् । महाभूकम्पका बेला ढुंगेसाँघुको प्राकृतिक पुल नजिकै नदीमा ठूलो ढुंगा खसेपछि नदीको प्रवाह पश्चिमतिर गएको छ । नदीको प्रवाह पूर्ववत् रुपमा फर्काउन पहल गर्ने उनले प्रतिवद्धता गरिन् ।
समिति अध्यक्ष नरेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारी र नेपाली कांग्रेस पोखरा १७ सभापति देवी आचार्यले पनि बोलेका थिए ।
नवनिर्वाचित अध्यक्ष भण्डारीले पोखराका मुख्य भागमा आउने पर्यटकलाई ढुंगेसाँघु क्षेत्रमा पनि लैजान पर्यटकीय संरचना निर्माण गर्नुपर्ने बताए । यसका लागि सरोकारवालासँग समन्वय गर्दै नयाँ कार्यसमिति क्रियाशील हुने उनको भनाइ छ ।




