फेदीखोला दलित एकता समाजमा शुभकामना आदानप्रदान

फेदीखोला दलित एकता समाज फेदीखोला स्याङ्जाको आयोजनामा दशै, तिहार , छठ तथा नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान, जेष्ठ नागरिक तथा विद्यार्थी सम्मान कार्यक्रम भएको छ ।

विभिन्न राजनीतिक दल, स्थानीय समाजसेवी ,स्थानीयको उपस्थितिमा भएको उक्त कार्यक्रममा ‘समाज रुपान्तरणमा राजनीतिक दलको भुमिका के रु’ भन्ने सम्बन्धमा अन्तरक्रियासमेत भएको छ ।

कार्यक्रममा नेकपा एमालेकी नेता तथा दलित अधिकारकर्मी सीता सुन्दासले आफू बच्चा हुँदादेखि नै जातीय बिभेदको सिकार भएको सुनाइन् । हालसम्म पनि कतै देखिने गरी कतै नदेखिने गरेर जातीय विभेद कायम रहेको उनले बताइन् । छुवाछूत मुक्त समतामूलक समाज निर्माण गर्नकै लागि कम्युनिस्ट राजनीतिमा होमिएको समेत उनले बताइन् ।

प्रतिनिधि सभा सदस्य नारायणप्रसाद मरासिनीले हामीले गरेको आन्दोलनले समाज परिवर्तनमा कति सकारात्मक प्रभाव पार्यो, अबको बाटो के, छुवाछूत मुक्त गर्न के कस्ता रुपान्तरणका कार्यक्रम राख्नु पर्छ भन्ने कुरामा हरेक राजनीतिक दलको नेतृत्व पंक्तिले सोच्नुपर्ने बताए ।

वामपन्थी नेता पुष्पराज बरालले छुवाछूत मुक्त समाज निर्माण गर्नको लागि फेदीखोला दलित एकता समाजले गरेका हरेक कार्यक्रमहरुले आफू अत्यन्तै खुसी भएको जनाए ।

प्रगतिशील संस्कृतिकर्मी तथा कवि सुरज उपाध्यायले छुवाछूत दलित समुदायले सामना गर्नुपरेको आर्थिक, सामाजिक र राजनीतिक विभेद एवं वञ्चितीकरणको समस्या नेपाली समाजमा रहेको कलंकको टीका भएको धारणा व्यक्त राखे । रूपा सुनारको अपमान या नवराज विकको हत्याको घटनाले प्रत्येक नेपालीको अपमान र अत्याचार भएको औंल्याउँदै उनले यस्ता कुरिती, अन्धविश्वास हटाउनको फेदीखोला दलित एकता समाज आगोको झिल्का बनेर अगाडि बड्न सकोस् भनी शुभकामना दिए ।

कार्यक्रममा बलबहादुर गोदार, होमनाथ शर्मा, लेखनाथ पराजुली , महेन्द्र थापा, रमेश विक, नवीन परिवार, लालबहादुर बिक लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष डिबी मिजारले गरेका थिए ।