सोमबार दिउँसो कास्कीको अन्नपूर्ण गाउँपालिका १० हुदु स्थित नयाँपुलबाट घान्द्रुक तर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । सोबार दिउँसो साढे १ बजे ग १ ज ६९०० नं.को बोलेरो जिप आफै अनियन्त्रित भई पोखरा घान्द्रुक कच्ची सडक खण्डको कलडाँडा भिरको घुम्ती सडकबाट अन्दाजी २०० मिटर खसेको थियो ।
दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जिप चालक जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका ५ नयाँपुल बस्ने वर्ष ४२ को खुसीमान क्षेत्री, काठमाण्डौ ३ गंगबु घर भई पोखरा घुम्न आएका वर्ष १८ को जिनलव घिसिङ, सोही ठाउँका वर्ष २४ की सुजा चौधरी, वर्ष २० की लिजा चौधरी, वर्ष २० को सुमन चौधरी, वर्ष २२ का अछुतम काफ्ले, वर्ष १८ का आशीष आले र जिल्ला गोरखा घर भई हाल जिल्ला काठमाण्डौ ३ गंगबु बस्ने वर्ष २७ को विनय क्षेत्री छन् ।
दुर्घटनामा घाइते १ जनालाई उपचारका लागि पोखरा ल्याइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।






