पुन फरक जात होइन, मगरलाई विभाजन गर्न दिन्नौं ः नवीन

नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगरले थरका आधारमा मगर जातिलाई विभाजित गर्ने षड्यन्त्रका विरुद्ध एकजुट भएर लाग्न मगर समुदायलाई अपिल गरेका छन् । नेपाल मगर संघ, कास्कीले आइतबार पोखरामा आयोजना गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्षसमेत रहेका रोकामगरले मगर जातिभित्र भाषिक, सांस्कृतिक विविधता भएप नि मगर जाति हौं भन्ने भावना सबैमा रहेको उल्लेख गरे । राष्ट्रिय जनगणना २०७८ को सन्दर्भमा मगर जातिलाई विभाजित गर्ने दुष्प्रयास गर्न थालिएको भन्दै उनले विभाजनका विरुद्ध प्रतिवादमा उत्रिन अपिलसमेत गरे ।

मगर जातिका बारेमा गहिरो अध्ययन नगरी मगर जातिका बारेमा हुने टीका, टिप्पणीको कुनै अर्थ नरहेको भन्दै उनले मगर जातिको एकतालाई अझै बलियो बनाउन र जातीय सद्भाव कायम राख्न मगर संघले विशेष प्राथमिकता दिएको बताए । थरका आधारमा दुनियाँमा कहीँ पनि जाति नबनेको उल्लेख गर्दै अध्यक्ष रोकामगरले थरलाई जात बनाउन खोज्नु अल्पज्ञान भएको जिकिर गरे ।

मगर जातिको मुख्य ७ थरमध्येको एक थर पुनलाई मगर होइन भन्नेहरू मगरविरोधी भएको उनले जिकिर गरे । मगर जातिभित्र भएका भाषिक, सांस्कृतिक विविधतालाई समेटेर मगर जातिलाई एकताबद्ध बनाएर लैजान मगर संघ तयार रहेको उनले बताए ।

संघका महासचिव ज्ञानेन्द्र पुनमगरले हरेक जनगणनामा राजनीति हुने गरेको जनाउँदै मगर जातिको जनसंख्या कम गराउने षड्यन्त्र भएको जनाए । मगर जातिको सही तथ्यांक अझै आउन नसकेको भन्दै उनले जनगणनाका क्रममा जाति, भाषा र धर्मको महलमा सचेत एवं चनाखो हुनुपर्ने बताए । जनगणनामा जातिमा मगर, भाषामा मगर ढूट, मगर खाम÷पाङ वा मगर काइके र धर्मको महलमा बौद्ध वा प्रकृतिपूजक लेख्न आग्रह गर्दै महासचिव पुनमगरले मगर जातिलाई विभाजन गर्ने कुनै पनि हर्कतको प्रतिवाद गर्न मगर संघ सधैं तयार रहेको चेतावनी दिए ।

नेपाल मगर संघका केन्द्रीय सल्लाहकार एवं नेपाल पुन मगर समाजका अध्यक्ष हर्कबहादुर पहरे पुनमगरले पुन मगर भएको भन्दै छुट्टै जात हो भन्नु मूर्खता भएको जनाए । मगर जातिको मुख्य थर मध्येको एक पुनलाई छुट्टै जात बनाउने कुनै आधार नभएको भन्दै उनले पुनलाई मगर जातिबाट अलग गर्न खोज्नेहरूको पुन मगर समाजले भण्डाफोर गर्ने चेतावनी दिए ।

नेपाल मगर संघ, कास्की अध्यक्ष संगीता पुनमगरको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रामबहादुर थापामगर र उपाध्यक्ष बुद्धिमाया थापामगरले पनि बोलेका थिए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!