मञ्जुदेवी पोखराकी कार्यवाहक मेयर

पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङ कार्यवाहक मेयर बनेकी छन् । । जिसीले कार्यालय नआउँदासम्म कार्यवहाक प्रमुख भई दैनिक कार्य सञ्चालन गर्ने गरी लिखित रुपमा कार्यवाहक प्रमुखको जिम्मेवारी उपप्रमुख गुरुङलाई दिएका हुन् ।

गत साउन १ गते बिरामी भएका पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सोमबार उनलाई कार्यवाहक दिएका हुन् । मस्तिष्कघात भएपछि उपचारका लागि काठमाडौं गएका प्रमुख जिसी शनिबार पोखरा आइका थिए । सोमबार कार्यालय पुगेर प्रमुख जिसीले दसैं लगायत अन्य चाडपर्वको अवसरमा नगरवासी तथा सम्पूर्ण नेपालीमा शुभकामना दिएका छन् ।

उनले कोरोना संक्रमणको जोखिम अझै रहेकाले स्वास्थ्यप्रति सचेत भएर चाडपर्व मनाउन आग्रह गरे । ‘चाडपर्व अर्को वर्ष पनि आउँछन्,’ जिसीले भने, ‘स्वास्थ्यका मापदण्ड पालना गरेर मनाउन आग्रह गर्दछु ।’ उनले स्वास्थ्यमा कुनै समस्या भएमा महानगरका स्वास्थ्य केन्द्र तथा अस्पतालमा स्वास्थ्य जाँच गराउन आग्रह गरेका छन् ।