त्रिशूलीमा कार खस्यो, पोखराका ३ बेपत्ता

पृथ्वी राजमार्गको मुग्लिननजिक बिहीबार राति त्रिशूली नदीमा कार खस्दा ३ जना बेपत्ता भएका छन् ।

इच्छाकामना गाउँपालिका ५ नाग्दी खोलाबाट ग२च ४९१८ नम्बरको कार खसेको हो । कारचालकसहित तीन जना बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । कारमै रहेका पोखरा–१७ का ४६ वर्षीय रुद्रलाल सुवेदीको भने उद्धार भएको छ ।

सुवेदीको भरतपुरस्थित पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंबाट पोखरा जाँद गरेको कार बिहीबार राति १२ बजेतिर दुर्घटनामा परेको र २ बजेतिर ‘चितवन प्रहरीले जानकारी पाएको जनाइएको छ । बेपत्ता हुनेमा चालक कास्कीको पोखरा महानगरपालिका–१७ का प्रेमबहादुर भुजेल, सोही ठाउँका लेखबहादुर भुजेल तथा ईश्वरी भुजेल छन् । प्रेम पोखरा चेम्बर अफ कमर्सका उपाध्यक्ष हुन्।