‘उत्तरदायी पत्रकारिता गरौं’

नेपाल पत्रकार महासंघ र कास्की शाखाको संयुक्त आयोजनामा उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण पोखरामा भएको छ ।

महासंघ गण्डकी र कास्की शाखामा कार्यरत पत्रकारको अभिमुखीकरणका लागि कार्यक्रम भएको हो । करिब ६० पत्रकारको उपस्थितिमा भएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, प्रशिक्षक जगत नेपाल र हिरण्य जोशीले प्रस्तुति दिएका थिए ।

पत्रकार महासंघका उपाध्यक्ष विष्टले पछिल्ला दिनमा अनुसन्धानमा रहेर गरिने पत्रकारिता हराउँदै गएकोमा चिन्ता जनाए । अनुसन्धनात्मक पत्रकारिताका लागि महासंघले छुट्टै योजना बनाएर अगाडि बढ्ने उनले बताए । पत्रकारको पेशागत अधिकार र हकहितका विषयमा पार्टीको पछि नलागी समानधारणा हुुनुपर्नेमा उपाध्यक्ष विष्टले जोड दिए ।

पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले कोरोना कहरकाबीच महासंघले आफ्ना गतिविधि गर्न नपाएको जनाउँदै अब विस्तारै तालिम लगायत अन्य कार्यक्रम गर्दै जाने उल्लेख गरिन् । पत्रकारको पेशागत सुरक्षाका लागि महासंघ सधैं अग्रसर रहने उनी बताउँछिन् ।

प्रशिक्षक नेपालले आचारसंहिताभित्र रहेर पत्रकारिता गर्न सुझाव दिए । उत्तरदायी पत्रकारिता पछिल्ला समय चुनौतीको विषय भएकाले सबै सम्बन्धित निकाय चनाखो हुन आवश्यक रहेको जनाए । प्रशिक्षक जोशीले प्रस्तुतीकरणको बीचमा पछ्रिल्लो समय पत्रकारिता छाडा हुँदै गएकाले यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने सुझाव दिए । ४५ जिल्लामा गरिएको सार्वजनिक सुनुवाईमा मिडियामाथि नागरिकको विश्वास गुम्दै गएको पाइएकाले सजग हुनुपर्नेमा उनको जोड छ ।

कार्यक्रममा महासंघ कास्की पूर्व अध्यक्ष नारायण कार्की र केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले पत्रकारका क्षमता अभिवृद्धिका लागि तालिम, अभिमुखीकरण जस्ता कार्यक्रम आवश्यक रहेको बताए ।