नेपाली काँग्रेसमा मेरो सहभागिता र प्रतिबद्धता

नेपालको भूबनोट र भौगोलिक स्थितिले नेपालीहरूलाई प्राचीनकालदेखि हालसम्म जनजीविकाकै सन्दर्भमा पनि अनौठो रूपले प्रभाव पारिरहेको छ । उत्तरी भागको हिमशृङ्खलाको अवस्थितिले लाखौँलाख वर्ष पहिलेको भौगोलिक इतिहासको सन्दर्भमा स्मरण गराउँछ । यही शृङ्खलामा सर्वोच्च शिखर सगरमाथाको अवस्थितिले विश्वका सम्पूर्ण मानवजातिसँग हाम्रो देश परिचित छ । गोरखाका राजा पृथ्वीनारायण शाहबाट स–साना भागमा सीमित राज्य–रजौटाहरूको एकीकरण गराएपश्चात् नेपालले विश्वस्तरमा एक सबल राज्यको चिनारी प्राप्त गरेको हो भन्ने कुरा पनि हामीले सदाकाल मनन गरिरहनुपर्दछ । उनीपश्चात् पनि एकीकरण अभियान अझै विस्तृत रूपमा अगाडि बढिरह्यो; बहादुर शाह, भीमसेन थापा, अमरसिंह थापा, बलभद्र कुँवर लगायतका बहादुर देशभक्तहरूको अभियानमा नेपालको सीमाना पूर्वमा टिष्टा नदी र पश्चिममा काँगडा, दक्षिणमा गंगा किनारसम्म पुगेको थियो । नेपालको त्यो फराकिलो भूभाग ब्रिटिश–भारतीय शासकहरूले सुगौली सन्धिको माध्यमबाट खुम्च्याइदिए । यसबाट सामुद्रिक मार्गको पहुँचलाई पनि दुर्लभ बनाइदिए ।

सुगौली सन्धि भयो, परिणामस्वरूप नेपाल सदाकालका लागि चट्टानी भागमा सीमित रहन गयो । पहाडको कुनै गाउँ पहिरोले लतारेर समुद्रमा पु¥याएझैँ भयो । माटो पानी बगेर महासागर पुग्यो, चट्टान मात्र पहाडमा रह्यो । यो देशको चट्टानी हावापानीका कारण भने यहाँका नागरिकहरू हृष्टपुष्ट नै छन्; आत्मीय भावनाका धनी पनि छन् । विविध संस्कार र पौराणिक संस्कृतिमा धनी छन् । शारीरिक र मानसिक रूपमा सबल र पौरखी छन् । नेपालीहरूको संस्कार, संस्कृति र पौरख विश्व जनमानसका अगाडि अनुपम रूपमा प्रदर्शित छ । यहाँको मानव र यहाँको प्रकृति विदेशीहरूका लागि दुवै अनुपम देखिए । त्यसकारण छिमेकी देशहरूभन्दा टाढाटाढाका शक्तिशाली राष्ट्रहरूले यस देशलाई गाढा रूपमा नजर लगाउन थालेका छन् ।

इतिहासलाई गाढा रूपमा स्मरण गर्दा सयौँ वर्षसम्म राजतन्त्रकै छहारीमा देशको एकीकरण भएको हो, यसैको छहारीमा राज्य–व्यवस्था सञ्चालित हुँदै आएको हो । राजतन्त्रभित्रै राणा प्रधानमन्त्रीहरूको शासन, बहुदलीय प्रजातन्त्रको शासन, पञ्चायत पद्धतिको शासन र पुनः बहुदलीय संवैधानिक राजतन्त्रात्मक शासन, अनि २०६२÷०६३ पछि हामी गणतान्त्रिक एवं लोकतान्त्रिक शासनपद्धति अन्तर्गत आइपुगेका छौँ । जेहोस्, देशको गौरवशाली इतिहास, यावत जातजातिको संस्कार र संस्कृतिलाई आधुनिक राजनीतिका माध्यमबाट मात्र दिगो रूपमा स्थापित गर्न र विकसित गर्न सकिन्छ । लोकतन्त्रमा आधारित राजनीतिले उच्चतम र निम्नतम दुवै उद्देश्यलाई परिपूर्ति गर्न सक्नुपर्दछ ।

राजनीतिले राष्ट्र वा राज्यलाई सर्वोपरि स्थानमा राख्नुपर्दछ । किनकि राष्ट्रमा हरेक तहका नागरिकहरूका लािग समान तहको शान्ति–सुरक्षा आवश्यक पर्दछ । राजा वा राष्ट्रपति पनि त्यही देशका सर्वोच्च हैसितका व्यक्तिहरू हुन्, उनीहरू जनताका प्रतिनिधिहरू हुन् । उनीहरूलाई पनि जनताकै संरक्षण आवश्यक पर्दछ, अनि जनतालाई उनीहरूको संरक्षण पनि उत्तिकै आवश्यक छ । यसरी जनता र जनप्रतिनिधि सबैलाई समान रूपले सम्मानसाथ व्यवहारमा ल्याउने पद्धति लोकतान्त्रिक पद्धति हो भने सबैलाई समान छहारी र आड दिइरहने राजमाताका हैसियतमा धर्तीमाता हुन्, ती धर्तीमाता नै राष्ट्र हुन्; तसर्थ राष्ट्रियता राजनीतिको मुटु र सर्वाङ्ग शरीर पनि हो ।

सबैतर्फका नदीहरू ब्रह्मपुत्र नदीमा पुगेझैँ २००७ सालको क्रान्तिदेखि आजसम्म जनताको परीक्षणमा आएका सबै राजनीतिक विचारहरू नेपाली काँग्रेस निकट रहँदै आएका छन् । ती सबैले नेपाली काँग्रेससँग सहकार्य गर्दै आएका छन् । क्रान्तिको उचाइमा पुगेपछि नेतृत्वदायी व्यक्तित्वहरूले “वी.पी. कोइरालाको विचारधारामा आइपुगेका छौँ” भनी स्वीकारोक्ति दिने गरेका छन् । यसकारण नेपाली काँग्रेस विगतदेखि हालसम्म नेपाली भू–राजनीतिको अभिभावक बन्दै आएको छ, नेपाली राजनीतिको मूलधार बन्दै गएको छ । नेपाली काँग्रेसको स्थापनाकालदेखि हालसम्म यसका सैद्धान्तिक र व्यावहारिक विशेषताहरूका कारण मूलतः राजनीतिसचेत राष्ट्रवादी, प्रजातन्त्रवादी र समाजवादी विचारधाराका व्यक्तिहरू निरन्तर यसप्रति आकर्षित रहँदै आएका छन् । अन्य पार्टीमा रहेर विशेष योगदान दिँदै आएका व्यक्तिहरूले पनि आफ्नो पुरानो पार्टीको अनुभवलाई यसै पार्टीमा समाहित गराउँदै यसलाई दिगो रूपमा उभ्याउन स्वच्छ योगदान पु¥याएका छन् भने कतिपय पार्टीका व्यक्तिहरू सामूहिक निर्णयका आधारमा आफ्नो सम्पूर्ण पार्टीको अस्तित्व र योगदानलाई यसै पार्टीमा विलय गराएका पनि छन् ।

सबैतर्फका नदीहरू ब्रह्मपुत्र नदीमा पुगेझैँ २००७ सालको क्रान्तिदेखि आजसम्म जनताको परीक्षणमा आएका सबै राजनीतिक विचारहरू नेपाली काँग्रेस निकट रहँदै आएका छन् ।

आफ्नो देशको नागरिकको हैसियतले जुनसुकै पेशा, व्यवसायमा संलग्न रहेर वा स्वतन्त्र रहेर पनि जुनसुकै राजनीतिक विचारधारामा आफ्नो आस्था राख्न सक्दछन् । मेरो आफ्नो सन्दर्भमा मेरो पौडेलवंश परिवार २००७ सालदेखि नै राणाहरूको एकतन्त्री शासन हटाएर जनताको शासन हुनुपर्छ, सबैलाई गास, बास, कपासको व्यवस्था हुनुपर्छ, वाक स्वतन्त्रता चाहिन्छ भन्दै प्रजातान्त्रिक मूल्य मान्यता बोक्ने नेपाली काँग्रेसमा आबद्ध भई आएको भए पनि म कारणवस आफ्नो घरपायकदेखि निकै पर शिक्षण पेशामा संलग्न भएको अवस्थामा २०३४ सालदेखि २०७१ सालसम्म जम्माजम्मी ३७ वर्ष वामपन्थी विचारधारामा अनवरत आस्था राख्दै आएको व्यक्ति हुँ ।

शुरुमा पुष्पलाल समूहको ने.क.पा. मा र धेरै पछि नेकपा माओवादीमा संलग्न रहेको थिएँ । यति लामो समय वामपन्थी धारमा लागेर गरीब नेपाली नागरिकको मुहारमा उज्यालो ल्याउन सकिएला, जनहित र देशहितमा पार्टीले र नेताले काम गर्लान् भनेको समग्रमा सबै प्रयासहरू मिथ्यामा परिणत हुँदै गएको अनुभव भयो । विशेषतः वामपन्थी नेता र नेतृत्वदायी व्यक्तिहरू सबै आ–आफ्नै पारिवारिक स्वार्थका निम्ति निजी शिक्षण संस्था र निजी अस्पताल आदिमा लगानी गरी सम्पत्ति जोड्ने र अझै ठूलो रकम विदेशी वित्तीय संस्थाहरूमा जम्मा गर्दै जाने जस्ता क्रियाकलापहरू देख्दा राजनीति गर्ने नेताहरूले राष्ट्रिय स्वार्थलाई पनि तिलाञ्जली दिँदै जानेछन् भन्ने महसुस भयो ।

यस्ता क्रियाकलापहरूबाट निराश भई अन्ततः आफू संलग्न रहेको नेकपा माओवादीबाट विधिवत राजीनामा गरी दुई वर्षसम्म स्वतन्त्र रहेको थिएँ । प्राध्यापन सेवाबाट पनि निवृृत्त भइसकेको थिएँ । पछि गएर पारिवारिक इतिहासको स्मरण पनि दोहोरिएर आयो, मेरै पिताजी सूर्यबहादुर पौडेल भारतको आसाम राइफलको जागीरबाट बाहिर निस्की २००७ सालको जनक्रान्तिमा भाग लिँदा मिलिसियामा भर्ती भई संघर्ष सफल भएपछि पारिवारिक र सामाजिक तहमै सीमित रहनुभएको थियो भन्ने जानकारी प्राप्त गरेँ । यी सबै यथार्थहरू मनन गरेपश्चात् २०७३ साल पौष महिनामा वी.पी. कोइरालाको राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा स्याङ्जा जिल्लाबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीका हातबाट नेपाली काँग्रेसको सक्रिय सदस्यता प्राप्त गरेको हुँ । त्यस समयदेखि नेपाली काँग्रेसको समग्र राजनीति र प्रजातान्त्रिक समाजवादमा गाढा आस्था र विश्वास राख्दै आएको छु ।

हाल म स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका अन्तर्गत नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा वडा नं. ५ बाट क्षेत्रीय प्रतिनिधिका रूपमा चुनिएको छु । यस अतिरिक्त नेपाल प्रजातान्त्रिक महासंघ अन्तर्गत लोकतान्त्रिक बुद्धिजीवी संघ, नेपालको अध्यक्षका रूपमा पनि काम गरिरहेको छु । यस पार्टीको विधानमा रही स्थापनाकालदेखि राष्ट्रियता र प्रजातन्त्रको पक्षमा जोड दिँदै अन्ततः प्रजातान्त्रिक समाजवाद समेत समाहित गरी युगानुकूल गतिशील बन्दै आएको र राष्ट्रिय मेलमिलापको अपरिहार्य सिद्धान्तलाई पनि अंगीकार गर्दै आएको हुँदा यसै पार्टीको सिद्धान्तमा रही बौद्धिक एवं लेखकीय योगदान पु¥याउन आफ्नो जीवनको उत्तरार्धमा म आफू प्रतिबद्ध रहेको छु ।
जय नेपाल !
२०७८–०५–२५
मो. ९८४६०५१२३०