‘एमसिसी चाहिँदैन, राष्ट्रियता बेच्न पाइदैन’

एमसिसी खारेज गर्न माग गर्दै सोमबार पोखरामा संयुक्त देशभक्त मोर्चाले धर्ना दिएको छ । सरकारले एमसिसी पास गर्न लागेको भन्दै नागरिक अभियान्ता विरोधमा उत्रिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीअघि उनीहरुले धर्ना दिए । धर्नाका सहभागीले ‘म मेरो भूमिमा विदेशी सेनाले बुट बजारेको सहन्नँ, त्यसैले एमसिसी चाहिँदैन’ ‘म मरे पनि मेरो देश बाँचिरहोस्’, ‘एमसिसी हामीलाई चाहिँदैन, राष्ट्रियता बेच्न पाइदैन’ जस्ता प्ले कार्ड बोकेका थिए ।

नागरिक अधिकारकर्मी रामबहादुर पौडेलले स्वास्थ्य मापदण्ड कामय गरी धर्ना दिइएको बताए । उनले सरकारले एमसिसी पास गर्न खोजे कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए ।

वरिष्ठ अधिवक्त तीलक पराजुलीले नेताहरुलाई प्रलोभनमा परी एमसिसी पास गर्न खोजिएको दाबी गरे । उनले भने, ‘यो नेपालको पञ्चशीलको सिद्धान्त र असंलग्न विदेश नीतिविपरीत छ ।’