वामदेवले २५ वर्षपछि फेरि छाडे एमाले, अब कता जालान् ?

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । २०५४ सालमा एमाले विभाजन गरी नेकपा माले गठन गरेका गौतमले २५ वर्षपछि पुनः एमाले छाडेका हुन् ।

उनी अहिले राष्ट्रियसभाका सदस्य छन् भने पत्नी तुलसा गौतम प्रतिनिधिसभा सदस्य छिन् । गौतम निकट नेताहरु यसअघि नै माधव नेपालको पार्टीमा गइसकेका छन् । गौतमले जबज माने एकीकृत समाजवादी जाने बताइरहेकाा छन् ।

गौतमले शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएका हुन् । नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए ।

नेकपा विभाजनपछि उनले दुवै पक्षमा नलागी एकता अभियान चलाएका थिए । अब एकीकृत समाजवादीमा लाग्ने वा अलग्गै दल बनाउने उनले खुलाएका छैनन् ।