पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ,–११ पकुवा र मोदी गाउँपालिका–५, अम्बोटमा पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने १ जना हराइरहेका छन् ।
बिहीबार रातिदेखि परेको अबिरल वर्षाका कारण पर्वत जिल्लाका बिभिन्न स्थामा गएको पहिरोमा परी १० जनाको मृत्यु भएको हो । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ भोगेनी बस्ने माधव शर्माको घर माथिबाट पहिरो आई घर पुरिदा उनकी छोरी वर्ष १६ की बिमला पौडेल, वर्ष ११ की बिनिता पौडेल र आमा वर्ष ७५ की कौशिला पौडेल, श्रीमती वर्ष ३५ की भगवती पौडेल र छोरो वर्ष ९ को बिनोद पौडेलको मृत्यु भएको छ ।
पर्वत कुश्मा नगरपालिका–११ सिल्मि बस्ने मनिलाल पौडेलको घर माथिबाट पहिरो आई घर पुरीदा मोदी गाउँपालिका–७ राम्जा घर भई पाहुना आएका वर्ष अन्दाजी ३८ का दुर्गा पौडेल र उनका छोरा वर्ष अन्दाजी ६ वर्षका गणेश पौडेल बेपत्ता भएका थिए । पछि उनीहरुको शव फेला परेको प्रहरीले जनाएको छ ।
मोदी गाउँपालिका–५ अम्बोटमा अबिरल वर्षाका कारण ओखलढुङ्गा सामुदायिक वनबाट आएको पहिरोले वर्ष अन्दाजी ५० की फुलमाया थापाको घर बगाउँदा उनको मृत्यु भएको छ । यस्तै, कुश्मा नगरपालिका–११ पपुवा पाल्चे स्थित हरि पौडेलको घर पहिरोका कारण घर भत्किएर ३ जना पुरिएका थिए । ४० की माया कुमारी पौडेल र उनका छोरा वर्ष ३ का प्रयुस पौडेलको पछि शव फेला परेको र आमा वर्ष ७० की डल्लीपाध्या पौडेल हालसम्म पनि बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
पहिरोमा बेपत्ताको खोजी तथा उद्धारका लागि पर्वत जिल्ला प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय खटिएका प्रहरीले जनाएको छ । यसैबीच, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त घटनाको खबरले आफू मर्माहत भएको बताउँदै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।






