प्रदेश नं १ मा नेकपा एमालेका १० जना सदस्य नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।
उनीहरूले आज प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका हुन् ।
प्रदेशसभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य राजेन्द्र राईको नेतृत्वमा सनाखत गर्नेमा राजन राई, गणेशकुमार काम्बाङ्ग, सरिता थापा, सावित्रादेवी रेग्मी, खिनु लङ्वा (लिम्बू) पदमकुमारी गुरुङ, सुनिताकुमारी चौधरी, उपेन्द्रप्रसाद घिमिरे र कृष्णकुमारी राई छन् ।
सनाखत कार्य यही भदौ २२ गते ५ बजेसम्म हुने र त्यससम्बन्धी सम्पूर्ण कागजात केन्द्रीय निर्वाचन आयोगमा पठाउने प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिए । नेकपा एकीकृत समाजवादी नेता राजेन्द्र राईले वर्तमान सरकार अल्पमतमा परेकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।
उनले भदौ २२ गतेसम्म थप सातदेखि आठ जना सदस्यले नेकपा (एकीकृत समाजवादी) मा आउने दाबी गर्दै भदौ २३ गतेपछि सरकार निर्माणको प्रक्रिया सुरु गरिने जानकारी दिनुभयो । नेता राईले प्रदेशका गठबन्धन दलबीचको आपसी सहमतिमा मुख्यमन्त्री चयन गरिने भएकाले सङ्घीय सरकारको कुनै हस्तक्षेप नहुने बताए ।






