सुदूरपश्चिममा एकीकृत समाजवादीमा १०, एमालेमा १५ सांसद

सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसदमध्ये १० जनाले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

नेकपा एमालेकोतर्फबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उनीहरुले पार्टी विभाजनसँगै मंगलबार औपचारिकरुपमा सुदूरपश्चिम प्रदेश निर्वाचन आयोगको कार्यालय धनगढीमा उपस्थित भएर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

सनाखत गर्नेहरुमा हाल मन्त्री रहेकाहरु पूर्णा जोशी, लालबहादुर खड्का, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी र मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्व मन्त्री माया भट्ट, सांसदहरु सुशिला बुढाथोकी, कूलवीर चौधरी, अमर साउँद र बलबहादुर सोडारी रहेका छन् ।

नयाँ पार्टी रोज्नका लागि निर्वाचन आयोगले दिएको भदौ २२ गतेसम्मको समयसीमाभित्र अन्य केही सांसदले पनि सनाखत गर्ने जनाइएको छ ।

यसअघि प्रदेशसभामा सभामुखसहित एमालेका २५ सांसदमध्ये १८ जना माधव नेपाल समूहमा र ७ जना केपी ओली समूहतिर खुलेको भए पनि नयाँ पार्टी दर्ता भएपछि अंक गणित फेरबदल भएको छ ।

एमाले उपाध्यक्ष भीम रावलले माधव नेपाल पक्षको साथ छाडेपछि केही सांसदहरु एमालेमै रहने भएका छन् ।

निर्वाचन आयोगले नयाँ पार्टीमा जान इच्छुक नेकपा एमालेका प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र जिल्ला समन्वय समितिका सदस्यहरूका लागि २२ गतेसम्मको समयसीमा तोकेको छ ।