पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल स्वदेश आएका छन् । अढाइ महिनाअघि भारतमा उपचार गर्न गएर खनाल सोमबार स्वदेश आएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफ्नो शरीरमा प्रत्यारोपण गरिएको मिर्गौला नाताले छोरी पर्ने मेलिना चित्रकारले उपलब्ध गराएको बताएका छन् ।
उनले आफ्नै दिदी (जेठीसासु) को छोरीले आफूलाई मिर्गौला दान गरेको बताए । ‘छोरी मेलिना चित्रकारले आफ्नो सानोबालाई किड्नी दिन तयार रहेको खबर गरिन्,’ उनले भने, ‘छोरी मेलिना चित्रकारलाई अस्पतालमा बोलाएँ । आवश्यक सम्पूर्ण परीक्षणपछि उनको मिर्गौला मेरो शरीरका लागि उपयुक्त हुने ठहर भयो ।’
उनले छोरी मेलिनाप्रति आभार प्रकटसमेत गरे । उनले मिर्गौला प्रत्यारोपणपछि आफूले नयाँ जीवन प्राप्त भएको महसुस गरेको पनि बताए ।
आफ्नो शरीरमा मिर्गौला प्रत्यारोपण सफल भएको भन्दै मिर्गौला दाता, उपचारमा संलग्न चिकित्सक र आफ्नो उपचारका लागि सहयोग उपलब्ध गराएको सरकारलाई धन्यवाद दिएका छन् ।






