समाजवाद भेट्न पोखरा महानगरको त्रिवर्षीय योजना

पोखरा महानगरपालिका सहरी योजना आयोगले तयार गरेको त्रिवर्षीय योजनामाथि छलफल गरिएको छ । महानगरले मंगलबार योजनाविद्हरुको उपस्थितिमा योजनामाथि विषयगत छलफल गराएको हो ।

योजनामा महानगरपालिकाको द्रुत र दिगो विकासका लागि आर्थिक सामाजिक, लोकतन्त्र तथा सुशासन, भौतिक पूर्वाधार जस्ता विषय समेटेर त्रिवर्षीय योजना (२०७८÷७९–२०८०÷८१) तयार गरिएको महानगर सहरी योजना आयोगका उपाध्यक्ष डा. रामचन्द्र लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार योजनाले समाजवाद उन्मुख समाजको निर्माणका लागि पोखराको आर्थिक र सामाजिक विकासको मोडल तयार गरेको छ ।

नेपालको संविधान २०७२, दिगो विकास लक्ष्य २०३० लाई पोखरा महानगरपालिकाको सन्दर्भमा स्थानीयकण, संघीय सरकारको भिजन २१००, पन्ध्रौ पञ्च वर्षीय योजना, गण्डकी प्रदेशको प्रथम पञ्च वर्षीय योजनालाई आधार मानेर पोखरा महानगरले ३ वर्षीय योजना तयार गरेको हो ।

महानगरका कार्यवाहक मेयर मञ्जुदेवी गुरुङले ‘सुखी नेपाली, समृद्ध नेपाल’मा आधारित रहेर पोखरा महानगरको त्रिवर्षीय योजना तयार गरेको र यस योजनाले आगामी विकासका कार्यक्रमलाई सहयोग पुग्ने बताइन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले महानगर नगरवासीको आशा र भरोसा अनि विकासको केन्द्रविन्दु भएको जनाउँदै योजनाको प्राथमिकरणमा विशेष ध्यान दिएर बलियो दस्तावेज बनाउन कार्यशाला गोष्ठी महत्वपूर्ण रहेको बताए । राष्ट्रिय योजना आयोगले तयार गरेको मार्गनिर्देशन अनुसार ३५ योजनाका विषय र त्यसका विषयगत क्षेत्रलाई समेटेर तयार गरिएको छ ।

गोष्ठीमा पर्यटन अध्येता श्रीकान्त खतिवडा, सुदृढ नेपाल परियोजनाका सहजकर्ता दामोदर गिरी, परियोजनाका सल्लाहकार कृष्ण ज्ञवाली लगायतले सम्बन्धित विषयवस्तुमाथि प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा महानगरका सम्बन्धित विषय महाशाखा प्रमुख, वडा अध्यक्ष कार्यपालिका सदस्य, विज्ञटोली बीच विषयगत रुपमा छलफल गराएर सुझाव संकलन गरिएको थियो ।

आयोगले तयार गरेको योजनालाई अन्तिम स्वरुप प्रदान गर्न उपमेयरको संयोजकत्वममा गठित योजना सहजीकरण समितिले अध्ययन गरी सुझावसमेत पेश गरेको थियो ।