मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो ।
“अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने देखिएको छैन् । बुधबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ,” जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले भने । शुक्रबारसम्म देशका धेरैजसो स्थानमा बदली रहनाका साथै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना छ । त्यस अवधिमा दिउँसोभन्दा राति र बिहान पानी धेरै पर्ने बताइएको छ ।
हाल देभभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको र वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।






