मन्त्रीको पारिश्रमिक सामाजिक काममा

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेशबाट प्राप्त हुने पारिश्रमिक सामाजिक सेवामा खर्च गरेका छन् । उनले शनिबार पोखरा ३३ भरतपोखरीका युवालाई १५ थान भलिबल र जाली हस्तान्तरण गरे ।

मन्त्री थापाले खेलकुद सामग्री आफूले प्रदेश सरकारबाट प्राप्त गर्ने पारिश्रमिकबाट प्रदान गरेको जानकारी गराए । उनले भने, ‘म सांसद हुँदादेखि नै प्रदेश सरकारबाट प्राप्त हुने तलब, भत्तामा केही आफूले पनि थपेर सामाजिक सेवासँगै विकास निर्माण कार्यमा खर्च गर्दै आएको छु । मन्त्री भइसकेपश्चात पनि यो क्रम निरन्तर चलिरहेको छ ।’

उनले नेपाली कांग्रेसको सरकार आएपछि पोखरा ३३ को विकासका लागि बजेट विनियोजन गर्न सफल भएको र हाल सोही अनुरुपको काम भइरहेको बताए । सरकारी निवास प्रयोग नगरी आफ्नै घरमा बसेका मन्त्री थापाले सरकारको खर्च कटौती गरी विकास, निर्माणका कार्यमा आफू समर्पित हुने प्रतिबद्धता जनाए ।
पोखरा २१ र ३३ नम्बर वडा दुर्गम भएकाले ती क्षेत्रको विकासका लागि आफूले सक्दो प्रयास गर्ने बताए ।

उनले नेपाली कांग्रेसको महाधिवेशन जुनसुकै समयमा पनि हुने भएकाले पूर्वतयारी गर्न कार्यकर्तालाई आग्रह गरे । क्षमता अनुसारको जिम्मेबारी दिने गरी यसपालिको महाधिवेशन सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।

नेपाली कांग्रेस पोखरा ३३ सभापति रामचन्द्र पौडेलले मन्त्री थापालाई कांग्रेसको साख जोगिने गरी काम गर्न आग्रह गरे । आगामी निर्वाचनमा कांगे्रसको जित हुने गरी काममै ध्यान दिनुपर्ने उनको भनाइ छ । नेपाली कांगे्रस पोखरा ३३ का पूर्वसभापति भोजराज आचार्यले अघिल्लो सरकारले नगरेका काम अहिलेको सरकारले गरेर देखाएको दाबी गरे । उनले भने, ‘सरकार परिवर्तन भएको धेरै समय भएको छैन । तर कांग्रेस नेतृत्वको सरकारबाट देखिने गरी नै उल्लेखनीय काम भएका छन् । यसको मूल्यांकन हुनुपर्ने आवश्यकता छ ।’

कार्यक्रम संचालन नेपाली कांग्रेस पोखरा ३३ का सहसंयोजक दिनेश आचार्यले गरेका थिए ।