पोखरा चेम्बरको अधिवेशन स्थगित

पोखरा चेम्बर अफ कमर्स कास्कीको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन स्थगित भएको छ ।

चेम्बरको शुक्रबार बसेको कार्यसमिति बैठकले साधारण सभा तथा अधिवेशन स्थगित गर्ने निर्णय गरेको सचिव प्रेम सुवेदीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिड १९ को संक्रमण बढिरहेको अवस्थामा सभा, सम्मेलन तथा भेला गर्न रोक लगाएको छ ।

चेम्बरको गत साउन १५ गतेको कार्यसमिति बैठकले भदौ ५ गते शनिबार अधिवेशन गर्ने निर्णय गरेको थियो । कोभिड १९ संक्रमणका कारण उद्घाटन सत्र भर्चुअल विधिबाट गरिने तय भएको थियो । पोखरा चेम्बर अफ कमर्स कास्कीको शुक्रबार बसेको कार्यसमितिको बैठकले उद्योगतर्फका उपाध्यक्ष ज्ञानबहादुर नेपालीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।

चेम्बरका अध्यक्ष किसान सुनार गण्डकी प्रदेश चेम्बरको अध्यक्षमा मनोनित भएपछि उपाध्यक्ष नेपालीलाई कार्यवाहक अध्यक्ष दिइएको हो । कार्यवाहक अध्यक्ष नेपालीले चेम्बरको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनसम्मका लागि काम गर्ने सचिव सुवेदीले जानकारी दिए ।