तालिवान शब्द पास्तो भाषाबाट बनेको हो जसको अर्थ धार्मिक बिद्यार्थी हो। सन १९९४ मा औपचारिक रुपमा स्थापना भएको तालिवानको प्रमुख कार्य सुन्नी समुदायका धार्मिक मान्यताहरु पढाउने सस्थाको रुपमा परीचित थियो। हुन त सन १९८९ फेब्रुवरीमा सोभियत संघले द्स बर्ष लामो अफगानिस्तानको बसाईबाट बाहिरिए पछी सोभियत संघ समर्थित वामपन्थी जनवादी प्रजातान्त्रिक पार्टी अफगानिस्तान (पिडिपिए) कमजोर बन्यो। सन् १९९२ पिडिपिएका राष्ट्रपति महोमद नाजिबुल्ला अपदस्त भए मुजाहिदिनहरुले काबुल कब्जा गरे।मुजाहिदिनभित्रै विभिन्न गुटहरु बने, बिबाद र आन्तरिक झगडामा फस्यो। त्यसैको फाइदा उठाउँदै तालिवानले हमला सुरु गर्यो। अन्तत: सन् १९९६ मा तलिवानले सत्ताकब्जा गरे। सोभियत संघ अफगानिस्तानमा हुँदा तालिवान र मुजाहिदिनलाई अमेरिकाले सहयोग पालित पोषित गरेको थियो। सन २००१ मा न्यूओर्क मा अलकाइदाको हमला पछी अलकाईदा सँगको तलिवानको सम्वन्ध भएको भनी तालिवान माथि अमेरिकाले आक्रमण सुरु गर्यो।
विश्व महाशक्ती राष्ट्र त्यसमा पनि नेटोको साथ र सहयोगको हुँदा हुँदै पनि आज अमेरिका मकै खान आएको ढेडु बाँदर जस्तै किन अफगानिस्थानबाट लखेटिनु पर्यो? ८३ अर्ब डलर भन्दा बढी लगानीको तालिम, हतियार सहित बन्दोबस्तीमा खर्च गरिएको ३ लाख ५० हजार भन्दा बढी अफगानी सुरक्षाकर्मी ६५ हजार तालिवान लडाकु सँग किन लडन सकेन वा लडन चाहेन? अमेरिकाले अफगानिस्थानमा खर्च गरेको २२ खर्व ६१ अर्व डलरको औचित्य के भयो? २३ सय अमेरिकन सेना सहित ३५०० भन्दा बढी विदेशी सेनाको मृत्यु, झन्डै ६५ हजार अफगानी सेनाको मृत्यु र २००९ पछी मात्र कुनै समय अमेरिकाले आफ्नै १ लाख १० हजार भन्दा बढी र नेटोले १३ हजार सेनाहरु अफगानिस्थानमा उतारेर भाड्भैलो मच्चाएर एकलाख भन्दा बढी सर्वसाधारणको हत्याको जिम्मेवार को हो? र त्यसको उपलब्धी के हो? अमेरिकाको आशिर्वाद र लाखौंको सख्याका सुरक्षा फौज हुँदा हुँदै राष्ट्रपति असरफ घानीले किन आफ्नो देश छोडि तर मार्न आएको ढाडे बिरालो जस्तो गरी झ्यालबाट हाम फालेर भाग्नु पर्ने परिस्थिती कसरी बन्यो? आफ्नै दुताबासबाट सुकाउन राखेको लगौटी जस्तै अमेरिकन झन्डा किन झिक्नु पर्यो?
आज यी र यस्तै प्रश्नहरुको उत्तर खोज्नु पर्दछ। अफगानिस्थानमा भएको परिवर्तन, त्यसले विश्व मानचित्रमा पार्ने प्रभाव र बाछिटाको रुपमा नेपालमा पार्ने अक्सर मात्र होईन महाशक्ती राष्ट्र र तिनिहरुको स्वार्थको खेलमा नेपालले सिक्नु पर्ने पाठहरुको बारेमा समेत सचेतनापुर्वक बिश्लेषण गरिनु पर्दछ।
तालिवान आँफैमा उग्र पुरातनवादी र कट्टरपन्थी समुह हो। तालिवान मुस्लिम सरिया कानुनको हिमायती, लैङ्गिक बिभेदपूर्ण समाजको स्थापनार्थ कृयाशिल गैर प्रजातान्त्रिक चिन्तनले ग्रसित छ्। अत: तालिवानको विजयमा खुशी हुनुपर्ने वा उत्सव मनाउनु पर्ने बिषय होईन। अफगानिस्थानमा पश्चिमा र बिषेस गरेर अमेरिकी दादागिरिको सर्वनाक हारले विश्वमा नयाँ सन्देश दिएको छ।
पहिलो कुरो के हो भने बिदेशीहरुबाट पालित-पोषित पाल्तु दलालहरु राष्ट्र, राष्ट्रियता र जन-जिविकाको समबेदनशिल घडीमा उपिया फडकिएझै आँफै फडकिएर भाग्ने गर्दछन। अरु कसैले टेका लगाईदिएर ठडाईएको नेता र नेतृत्वको हालत घानीको जस्तो हुदो रहेछ। घर भित्र मालिक हुँदा सम्म भुक्ने कुकुर मालिकले घर छोडेर हिंडे पछी त्यो कुकुर कि भुस्याहा बन्दछ वा अरुको घरमा गासे हुन्छ। एक गास कलोमा पुच्छर हल्लाउदै हिडने कुकुर र दलाल नेताहरु उस्तै हुन। के हामीले पनि यस्तै विदेशीले पालेका दलालहरु नेता मानिरहेका छैनौ? गम्भिर हुनै पर्दछ। अरुको कट्टुको फेर समाएर राज्य-सत्ता सन्चालन गर्नेहरुलाई बेलैमा पहिचान गरी खुईलाउनु पर्दछ।
अफगानिस्थानबाट हामीले शिक्नुपर्ने अर्को पाठ हो- केही सिमित लोक कल्याणकारी सस्थाहरु बाहेक बाट गरिने सहयोग भित्र स्वार्थ लुकाईएको हुन्छ। कुनै पनि दात्रृ सरकार, निकाय वा सस्थाको सहयोगको पुलिन्दा भित्र स्वार्थ हुदो रहेछ। अफगानिस्थानमा पश्चिमाहरुले खर्च गरिएको खरबौ डलर के साच्चै अफगानी जनताको लागि रहेछ? अहिले प्रष्ट भएको छ। नेपालमा पनि MCC को नाममा बिकासको सपना बाडिदै छ? के अमेरिकाले चोखो मनले कठै! नेपाली जनताले दु:ख पाए भनेर नेपालीहरुको भोक, रोग र शोकमा मलमपट्टी लगाउन अरबौ डलर खर्चन आएका होलान भनेर पत्याउनु? बिदेसिको स्वार्थ घुलित काट्टो खाने कि आफ्नै बारीमा फलेको मकैको आटो खाने? अहिले भौतिक बिकास भएका देशहरु बिदेशी दात्रृ निकाय, अन्त्ररास्ट्रिय संघ सस्था वा कसैको अनुग्रह र दयाले अहिलेको अवस्थामा आएका होईनन। हेक्का रहोस, तालिवान जस्ता पुरातन रुढिवादी अतिवादी समुहले त दलालहरुलाई नेटो कटाउने रहेछन भने स्वाभिमानी नेपालीहरुले दलालहरुलाई घोक्रेठ्याक लगाउने छन। अरुको देशको अश्मिता चिथोर्ने, जनाताको रगत पिउने, राज्यसत्तालाई पङ्गु बनाउने कुन्ठित मनसायलाई बेलैमा सचेतनापुर्वक प्रतिकार गरिएन भने नेपाल आजको अफगानिस्थान हुने छ।
आसे, पासे र गासेहरुबाट राज्यस्रोतको दोहन हुनु, भष्ट्राचार सस्थागत र सर्व-स्विकार्य बनाईनु, न्यायलय पंगु बनाईनु, बिधी र पद्दति होईन आदेश र अध्द्यादेशबाट देश सन्चालन गर्नु, दलाल नेतृत्व र बिचौलिया कार्यकर्ता हुनु, ब्यक्तिगत र दलगत स्वार्थमा देश लुट्नु र लुटाउनुले बिद्रोहको लागि वाध्यत्मक परिस्थिती निर्माण गर्दछ। बिदेशी शक्तिको सामु तमशरणम हुनु, कुशासन र भष्ट्राचारले पराकाष्टले जनताहरु मर्नु भन्दा बौलाउनु निको भन्ने अवस्थामा पुग्दछन। अफगानिस्थानमा पनि लोकतन्त्र वा प्रजातन्त्रको आवरणमा भएको लुट्तन्त्रको परिणाम हो आजको अवस्था। महिलाहरुलाई शिक्षामा प्रतिवब्ध, पुरुषहरुले दारी खौरन समेत नपाउने तालिवानीलाई साथ दिनु, सरकारी सेनाहरु आत्मसमर्पण गर्न आतुर हुनुमा तालिवानको शक्ति र लोक प्रियता होईन कुसाशन र भष्ट्राचार प्रमुख कारक देखिन्छ।
नेपालका राज्यसत्ता संचालकहरुले बेलैमा बुद्दी फिरेन र कुशासन र भष्ट्राचार निरन्तरता भयो भने यीनीहरुको हालत पनि धोती न टोपी हुने निस्चित छ। जनताको शक्तिको अगाडि सबै लाचार र निरह हुने छन। जनता महान हुन र ईतिहासको निर्माता जनता हुन। चेतना होस्।




