नेपाल आदिवासी जनजाति पत्रकार महासंघको स्थापना दिवसमा पोखरामा २ पत्रकार पुरस्कृत भएका छन् । फोनिजको २२ औं स्थापना दिवसको अवसरमा फोनिज गण्डकी प्रदेशको आयोजनामा मंगलबार पोखरामा आयोजित कार्यक्रममा पोखराकी पत्रकार शान्ति गुरुङ र नवलपुरका पत्रकार केबी रानामगर ‘कञ्चन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् ।
आदिवासी, जनजातिको भाषा, कला र संस्कृतिको क्षेत्रमा कलम चलाउने उनीहरुलाई जनही २५ हजारसहित दोसल्ला र सम्मानपत्र प्रदान गरियो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खडकबहादुर कुमाल, पुरस्कारदाता बिमलमान गुभाजु, फोनिज गण्डकी प्रदेश अध्यक्ष एमबी आस्था लगायतले गुरुङ र रानामगरलाई सम्मान गरे ।
पत्रकार गुरुङ लामो समयदेखि रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र पोखरमा कार्यरत छिन् । उनी पत्रकारितासँगै गायन क्षेत्रमा पनि सक्रिय छिन् । नवलपुरका रानासँग रेडियो नेपाल, कान्तिपुर टिभी, नागरिक दैनिक लगायत दर्जनौ मिडिया हाउसमा काम गरेको अनुभव छ ।
सम्मानित भएपछि गुरुङ र रानाले पुरस्कारले पत्रकारिताको क्षेत्रमा कलम चलाउन हौसला थपिएको बताए । रानाले पुरस्कार वापतपाएको २५ हजारमा उती नै रकम थपेर आफ्नी ५ महिने छोरीको सम्झनामा कोरोनाबाट ज्यान गुमाएका तथा पीडित बालबालिका तथा परिवारलाई सहयोग गर्ने घोषणा गरे ।
पोखराका व्यवसायी तथा समाजसेवी विमलमान गुभाजुसहित उनको परिवारले वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा पुरस्कार स्थापना गरेको हो । गुभाजु परिवारले पुरस्कारका लागि थप १ लाख अक्षय कोषमा राख्ने भएको छ । अब पुरस्कारको अक्षयकोष ७ लाख पुगेको छ ।
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले प्रदेशमा भएका धर्म, संस्कतिलाई समेट्दै धार्मिक पर्यटनमा जोड दिइने बताए । गुरुङ जातिको उद्गमथलो क्होलासोंथार, लिगलिगकोट जस्ता महत्वपूर्ण स्थानलाई विश्व सम्पदा सूचीमा राख्न पहल भइरहेको बताए ।
प्रदेशको विकास, निर्माण र समृद्धिका पाटा केही समय थाती राखेर जनताको स्वास्थ्यमा प्रदेश सरकार लागिपरेको उनले जनाए । पहिलो चरणमा निशुल्क खोपका लागि बजेट छुट्याए पनि सिधैं प्रदेशले ल्याउन पाउने अधिकार नहुँदा खुम्चिनुपरेको सुनाए । संघ सरकारसँग समन्वय गरी प्रदेशका जनतालाई पूर्ण खोप सुनिश्चित बनाउने अभियान जारी रहेको उनले बताए ।
मुख्यमन्त्रीका राजनीतिक सल्लाकार खड्गबहादुर कुमालल प्रदेश सरकारसँग धेरै अपेक्षा भए पनि पुरा गर्न गाह्रो हुने जनाए । नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले आदिवासी, जनजातिको मुद्दालाई साझा बनाएर आवाज उठाउन नेपाल पत्रकार महासंघ फोनिजसँगै रहेको बताइन् ।
फोनिज गण्डकी प्रदेश इन्चार्ज हुमबहादुर गुरुङ, फोनिज गण्डकी प्रदेश उपाध्यक्ष दीलशिरिष, महासचिव रुद्र शिरिषमगर लगायतले कार्यक्रममा बोलेका थिए ।






