मायालुको स्पर्शमा
तीब्र वेगमा मुटु धड्किन्छ
धोखा पाउँदा भड्किन्छ
एकान्तमा तड्पिन्छ
आँसु नचुहाई रुन्छ
षडयन्त्र बुन्छ
कहिले परोपकारी बन्छ
कहिले भ्रष्टाचारी हुन्छ
कहिले आफ्नै खाडल खन्छ
अरूको प्रगतिमा जल्छ
देखासिकी गर्छ
अहङ्कारले मर्छ
ठुला आँखा तर्छ
आफै सात बल्डाङ लड्छ
कहिले शिखरमा चड्छ
अरूका खुट्टा तान्छ
बचनले हान्छ
भाँजी हाल्छ
हाँगा छुट्टाउँछ
बुढो रुख ढाल्छ
अहङ्कार पाल्छ
सम्बन्ध बिगार्छ
विगत सम्झिन्छ
आफूलाई धिक्कार्छ
अन्त्यमा हार्छ
त्यसपछि?
आस्थाको बाटो चहार्छ
हन्डर खान्छ
मुटुभित्रको एकमुठी हावा न हो जीवन
हुरुरु उडिजान्छ ।





