अँध्यारोको घुम्टो ओढेर
रात चकमन्न सुत्न लागेको बेला
एउटा कविता जन्मने खुसीले म हर्षित भएँ
अनि
कागजको पन्नाले आफ्नो ढोका उघारिदियो
म भित्र पसेँ
पन्नाको छातीभरि
ढकमक्क लागेको जून र
झलमल्ल चम्किएका ताराहरूको
मेला थियो
म
गीत गुनगुनाउँदै
एकेक गर्दै
ताराहरूलाई
मुट्ठीमा भर्दै
आकाशतर्फ हुत्याउनमा तल्लीन भएँ
के गर्नु यतिबिघ्न तारा?
जून त मेरो हातमै रह्यो
सधैं नै मलाई ऊर्जा दिने साथी बनेर
मेरो कविताको सारथि पूर्णिमाको जून।
उसले मेरो मुटुमा
र मैले उसको मुटुमा
आफ्नो आफ्नो घर बनाएका छौं।






