महामारीबीचमै मनाइने यसपालिको तीज लक्षित गरी गायिका अम्बिका भण्डारीले दोस्रो तीजगीत बजारमा ल्याएकी छन् ।
लय तथा शब्द संकलन भण्डारीले नै गरेको ‘अपार’ तीजगीतमा भण्डारीसँगै गायत्री पराजुलीले स्वर दिएका छन् । रेकर्डिङ, उत्पादन र वितरण नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियो पोखराले गरेको गीत जुजु गुरुङले एरेन्ज गरेका हुन् । नमस्ते पोखराको अफिसियल युट्युबमार्फत गीत सार्वजनिक भएको छ ।
भिडियोमा करुणा भण्डारी, भावना पन्त, स्वेच्छा सुवेदी र इन्दिरा शर्माको नृत्य छ । म्युजिक भिडियोमा प्रमिला तुलाचन, बुद्धिसागर खनाल, विनित जोजिजू, शिव त्रिपाठी, केशव भण्डारी, गोमा सोती, शुभद्रा कोइराला, लोकराज भण्डारी, लक्ष्मी कार्की आदिले अभिनय गरेका छन् । शिव राजा भुर्तेलको निर्देशन तथा सम्पादनमा तयार भएको भिडियो छायाकंन सुरेश भुर्तेलले गरेका हुन् ।
साहित्यकारसमेत रहेकी भण्डारी सप्तरंगी साहित्यिक प्रतिष्ठान नेपाल गण्डकी प्रदेश अध्यक्ष हुन् । केही दिनअगाडि विमला ढुंगाना निरौलासँग मिलेर उनले प्रवासमा चेली’ बोलको तीजगीत ल्याइसकेकी छन् ।
यसअघि उनका संसार छाडी गयौं आमा, आऊ नाचौं दिदी बहिनी, खुसी राख्छौं बाबा तिम्लाई, नभइदे न मेरो मन दुःखी बरी लै, माइती देशै झलल, हाम्रो माइती घर, फूल फूल्यो, आँठा आँठा छेकेर, उही बनपाखामा जस्ता गीत दर्शक, स्रोतमाझ आइसकेका छन् । उनका ४ काव्यकृतिसमेत प्रकाशित छन् ।
नेपाली नारीको मौलिक पर्व र तीजगीतमा समेत अनेक विकृति, विसंगति मौलाएका बेला आफूले परम्परा र मौलिकता बचाउने प्रयत्न गरेको गायिका भण्डारीले बताइन् । मौलिक र पृथक पर्व तीजलाई हैसियत अनुसार मनाउन र दुःखसुख साटासाट गर्ने माध्यम बनाउन आफूले गीतमार्फत आग्रह गरेको उनले बताइन् ।






