साढे ५ करोडमा भेटेरिनरी अस्पतालको नयाँ भवन

गण्डकी प्रदेशको राजधानी शहर पोखरामा पशुपन्क्षीको उपचारका लागि मोडेल(नमूना) भेटेरिनरी अस्पताल निर्माण गरिने भएको छ ।

पोखरा महानगरपालिका–१२ स्थित हालको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको परिसरमा निर्माण गरिने अस्पताल भवनको आज गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले शिलान्यास गरे ।


पशु उपचार तथा कृषकलाई सहज भेटेरिनरी सेवा उपलव्ध गराउने उद्धेश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको गत आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार अस्पताल निर्माण कार्य अघि बढाइएको हो ।

सुविधासम्पन्न साढे दुई तलाको मोडेल अस्पताल भवन रु पाँच करोड ५४ लाख ४७ हजार २६४ लागतमा आगामी विसं २०८० साउन १० गतेभित्रमा निर्माण सम्पन्न गर्ने गरी गत साउन ११ गते सिद्धबाबा÷फुल्जोर जेभि स्याङ्जासँग ठेक्का सम्झौता गरिएको वरिष्ठ पशु विकास अधिकृत एवं कार्यालयका प्रमुख डा शोभा शर्माले बताइन्र।


उनका अनुसार सुविधासम्पन्न अस्पताल भवनमा प्रयोगशाला, अपरेशन कक्ष, फार्मेसी, रेडियोलोजिकल ल्याबको सुविधा रहने ।

यसैगरी पशुपन्क्षी, माछा, घरपालुवा जनावरको उपचारका लागि समेत छुट्टाछुटटै कक्ष रहने बताइन्छ ।

कार्यक्रममा मन्त्री बुढाले भेटेरिनरी अस्पतालका लागि भवन निर्माण शुरुआत हुनु प्रदेशका लागि ऐतिहासिक र दीर्घकालिन महत्वको कार्य भएको बताए ।

पशुपन्क्षीको उपचारका लागि निर्माण हुने अस्पताल पशुपन्क्षीसँग मात्र सम्वन्धित नरहेको बताउँदै उनले भने,“भवन निर्माणपछि अस्पतालमा उपलव्ध हुने सेवा वातावरणीय र मानविय स्वास्थ्यसँग समेत जोडिएको छ । तोकिएको मितिमै सम्पन्न भएर सेवा प्रवाहमा सहज हुने विश्वास सरकारले लिएको छ ।”

कोभिड–१९ का कारण कृषि क्षेत्रमा सरकारले लिएका लक्ष्य तथा उद्धेश्यहरु हासिल गर्न कठिनाई भएको बताउँदै मन्त्री बुढाले चूनौतीको सबै मिलेर सामना गर्नुपर्ने कृषकलाई छिटो छरितो सेवा प्रवाह गरी उत्पादन बृद्धितर्फ मातहतका कार्यालयहरुले काम गर्नुपर्नेमा जोड दिए ।

पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा मनबहादुर पुनले मोडल अस्पताल लाइभस्टकका क्षेत्रमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै पशुपन्क्षीको राम्रो उपचार र स्वास्थ्यबाट मानवको समेत स्वास्थ्य राम्रो हुने उल्लेख गरे ।

विश्व स्वास्थ्य संगठनले मानवमा लाग्ने ७० प्रतिशत रोगहरु पशुपन्क्षीबाट सर्ने गरेको तथ्याङ्क सार्वजनिक गरेको भन्दै उनले मोडल अस्पतालले रोग नियन्त्रण गर्ने र स्वस्थ पशु उत्पादनमा सघाउ पुग्ने बताए ।