१.
खोप लगाउने पालो जेष्ठ नागरिकको थियो | खोप केन्द्रमा ला…मो लाइन थियो | युवाहरु धकेलाधकेल गर्दै बीचमा छिरिरहेका थिए | लाइनको बीचमा छिर्ने प्रतिष्पर्धाले जेष्ठ नागरिकहरु धकेलिदै धकेलिदै डांडामाथिको जुन भएका थिए |
‘ मलाइ वडा अध्यक्षले पठाउनु भएको ‘ – उसको पाखुरामा सुई लाग्यो |
‘ मलाइ मुन्द्रेदाइले पठाएको ‘- जगल्टेको पाखुरामा सुइले छेड्यो |
‘ म मन्त्रीको मान्छे ‘- सुकिलोको पाखुरामा मुकिलो सुइले छेड्यो |
‘ म जेष्ठ नागरिक ‘ – २८ बर्षिय जेष्ठ नागरिकको पाखुरामा खोप घुस्यो |
….
दिउँसोको प्रचण्ड गर्मीमा बुढाबुढीले हरेस नखाई पंक्तिमा उभिइरहेका थिए |
स्वास्थ्यकर्मी बाहिर निस्क्यो र भन्यो – आज सबै खोप सकियो |
२.
सरकारी अस्पतालको खोपकेन्द्रमा ठूलो पंक्ति थियो | पंक्ति पनि भन्न मिल्ने अवस्था थियो | ठाउँठाउँमा ठूला ठूला गिर्खा निस्केका बहुपंक्ति थिए | पंक्तिको सुरुमा आमसभा गर्न मिल्ने भीड थियो | एउटाको पालोमा अर्कोले खोप लगाउने मात्र हैन एउटाको नाममा अर्कोले खोप लगाउने प्रक्रिया सामान्य थियो | २ जना प्रहरी अलि पर मोबाइलमा घोप्टिएका थिए | जनप्रतिनिधिहरुले अग्रपंक्तिमा आफ्ना मान्छे घुसाइरहेका थिए | स्वास्थ्यकर्मीको आवाज भीडको हल्लाले हावामा बिलाएको थियो |
त्यो पंक्तिमा एकजनाले मोबाइलमा रेडियोको समाचार सुन्दै थियो – कोरोना संक्रमणबाट बच्न भौतिक दुरी कायम गर्नुहोला |
३.
‘ अबको पांच मिनेटमा तपाइको घरमा आउँछौं, हिजोको फोन अनुसार तयार भएर बस्नुहोला |
साँझ एउटा भ्यान आयो |
‘ ल सबैजना भ्यानभित्र आउनुहोस्, अलि छिटो ! सय ठाउँ पुग्नु छ |’
त्यो घरका ४ जना भ्यानभित्र आए |
घाँटीमा परिचयपत्र झुन्ड्याएको मान्छले मोबाइलको लाइट बालेर भटाभट खोप लगायो |
अर्को व्यक्तिले कन्डक्टरको काम गर्यो |
उसले भन्यो – ४ जनाको २० हजार दिएर छिटो भ्यानबाट निस्किहाल्नुस |
.
४.
कोभिशिल्डको पहिलो मात्रा सरकारले समयमै दिएकोमा उनीहरु कृतज्ञ भएका भए |
दोस्रो मात्रा ४ हप्तापछि |
४ हप्तापछि उनीहरुले सुने – ८ देखि १२ हप्तामा लगाउँदा खोपेले राम्रो काम गर्छ |
१२ हप्तापछि उनीहरुले सुने – खोप भारतले पठाएन | छिट्टै ब्यबस्था गर्छौं |
४ महिना बित्यो | अन्य खोप आए तर कोभिशिल्ड आएन |
दोस्रो लहरमा धेरैजनाको मृत्यु भएको हुँदा जसरी भएपनि खोप लगाउनु पर्छ भन्ने सोंच उनीहरुको मनमा बस्यो |
छोराले भन्यो – मैले खोपको ब्यबस्था गरें | सुनौलीबाट खोप लगाउने मान्छे राति आउदैछ | एक जनाले ८ हजार आइसी तिर्नुपर्छ रे !’
जीवनभन्दा ८ हजार धेरै होंचो भयो | लकडाउन र ब्यापारघाटाको कारण उनीहरुको खोप किन्ने क्षमता थिएन | पेट काटेर भएपनि खोप लगाउने उनीहरुले निर्णय गरे |
राति गाडी आयो |
घरका ५ जनाले खोप लगाए | उसले खोपको शिशा हेर्यो | कोभिशिल्ड लेखिएको थियो |
४० हजार आइसी बराबरको नेपाली ६४ हजार बुझेर उनीहरु घरबाहिर निस्किए |
घरको गेट लगाउंदा उनीहरूमध्येको एकजनाले अरु कसैलाई फोन गरेको सुन्यो
| उसले भन्दै थियो – खोप सकिएका खाली भाइल जम्मा गरेर ५ एमएल पानी भरेर राख है | नेपालमा ०.५ एमएल पानी ८ हजार आइसिमा बिक्रि हुन्छ | भर्खर २.५ एमएल पानी ६४ हजारमा बेच्यौं |




