कहाँ छन् चमनलाल ?

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) ले सहिद र बेपत्ताले देखाएको सपना पूरा गर्न लाग्ने प्रतिवद्धता गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र वडा कमिटी पोखरा १० को आयोजनामा बुधबार भएको राज्यद्वारा वेपक्ता पारिएका मजदुर नेता चमनलाल बरालको १९ औं खोजसभामा बरालले यस्तो बताएका हुन् ।

मन्त्री बरालले अझै राजनीतिक अवस्था जटिल बन्दै गएको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री केपी ओली प्रवृत्तिलाई कुनै पनि हिसाबले राज्यसक्ताको वागडोर दिन नहुने जनाए । आफूहरुले प्राप्त गरेको सत्तामा सहिदको रगत लत्पतिको उल्लेख गर्दै मन्त्री बरालले सबैको राय, सल्लाहले प्रदेशको आर्थिक विकास र समृद्धिको बाटोमा लाग्ने उल्लेख गरे ।

सुकुम्बासी समस्या आधारभूत रुपमा हल अहिलेको नयाँ सरकारले गर्ने उनको दाबी छ । बरालले भने, ‘नयाँ सरकारले नयाँ प्याकेज ल्याउँदै छ । सहिद र बेपत्ताले देखाएको बाटो र लक्ष्य उद्देश्यलाई निरन्तर पछ्याइरहने छौं ।’

चमनलालकी श्रीमती जमुनाले श्रीमान हराएको १९ वर्षसम्म पनि पक्ता लगाउन नसकिएकोमा निकै मर्माहत भएको सुनाइन् । ३२ वर्षसम्म पोखरा १० स्थित नागिनटोलमा बस्दै आएकाले जग्गाको लालपुर्जा उपलब्ध गराउन उनले माग गरिन् । त्यो टोलमा करिब ७० परिवार लामो समयदेखि बसोबास गर्दै आएका छन् ।

माओवादी केन्द्र पोखरा १० अध्यक्ष किरणप्रसाद भट्टको अध्यक्षतामा कार्यक्रम भएको हो ।