वर्षभरीका दुःखसुख साटासाट गर्ने नेपाली नारीको पर्व हरितालिका तीज आउँदै छ । महामारीकै बीचमा पनि तीजलाई लक्षित गरी नयाँ नयाँ गीत सार्वजनिक भइरहेका छन् । पोखरामा क्रियाशील गायिक अम्बिका भण्डारी र अहिले अमेरिकामा रहेकी विमला निरौलाले नयाँ गीत बजारमा ल्याएका छन् ।
निरौलाको रचनामा ‘प्रवासमा चेली’ बोलको गीत हालै सार्वजनिक भएको छ । प्रवासमा रहेका नेपाली नारीको भावना गीतमा समेटिएको निरौला बताउँछिन् । गीतमा स्वर र लय भण्डारीले दिएकी छन् । यो गीतलाई साहिल गायकले एरेन्ज गरेका हुन् । गीतको उत्पादन तथा वितरण नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियोले गरेको छ ।
शिव राजा भुर्तेलद्वारा निर्देशन तथा सम्पादन गरिएको यो गीतमा करुणा भण्डारी, भावना पन्त, स्वइच्छा सुवेदी, इन्दिरा शर्मा लगायतको नृत्य छ । भिडियो सुरेश भुर्तेलले खिचेका छन् । गायिका भण्डारीले बर्सेनी नयाँ तीजगीत दर्शक, स्रोतालाई दिने गरेकी छन् ।
शब्दसमेत आफैं लेख्न सक्ने भण्डारीका गीत समसामयिक र तीज पर्वको मौलिकता जोगाउने खालका छन् । ‘तीज नेपाली महिलाको लोकप्रिय पर्व हो । यसमा आएका विकृति, विसंगति हटाएर हार्दिक र परम्परागरुपमा पर्व मनाउनुपर्छ ।’




