पियारी राजमो गण्डकी संसदीय दलको नेता

राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशमा संसदीय दलको नेतामा पियारी थापा चयन भएकी छन् ।

जनमोर्चा संसदीय दलको मंगलबारको बैठकले थापालाई संसदीय दलको नेता चयन गरेको पार्टीका महासचिव मनोज भट्टले बताए ।

यसअघि संसदीय दलको नेता रहेका सांसद कृष्ण थापालाई राजमोले कारवाही गरिसकेको छ । ३ सांसद रहेको राजमोका अब २ सांसद बाँकी छन् ।

तत्कालिन मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङविरुद्ध गठबन्धनको तर्फबाट ल्याइएको अविश्वासको प्रस्तावमा मतदान गर्न पार्टीले दिएको निर्देशन उल्लंघन गरेपछि थापालाई पार्टीले कारबाही गरेको थियो । पद थमौतीको माग गर्दै सर्वाेच्च गएका थापाको माग सर्वाेच्चले अस्वीकार गरिदिएको छ ।

थापालाई कारबाही गरेपछि नै प्रमुख सचेतक रहेकी पियारीले संसदीय दलको नेताका हैसियतमा काम आएकी थिइन् । राजमोका अर्का सांसद खिमकविक्रम शाहीलाई प्रमुख सचेतक बनाइएको छ । शाही प्रदेश मामिला सभापतिसमेत बनेका छन् ।