लुम्बिनी सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता, विशेष अधिवेशन माग

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । प्रस्तावमा ३४ जना सांसदहरुको हस्ताक्षर छ ।

प्रदेशसभाका ३४ सदस्यले संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावलीको १४४ को उपनियम १ बमोजिम मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावमा मुख्यमन्त्रीका रुपमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कूलप्रसाद केसीको नाम उल्लेख छ ।

विगतमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । तर तत्कालीन प्रदेश प्रमुखबाट पुनः असंवैधानिक रुपमा पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरिएको थियो ।

विपक्षी गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समावेदन गरेको छ । मंगलबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेलगत्तै विपक्षी गठबन्धनका नेताहरू प्रदेश प्रमुखको कार्यालय पुगेर विशेष अधिवेशनको मागसहित समावेदन दिएका हुन् ।