महिलालाई यौन कार्यमा लगाउने खाजाघर सञ्चालक पक्राउ

कास्की प्रहरीले पोखरा, अमरसिंहचोकको एसके खाजाघरका सञ्चालक सोनाम गुरुङ र अर्का एक जनालाई शुक्रबार पक्राउ गरेको छ ।

सोनामसँगै पोखरा २७ रिठेपानीका रोशन गुरुङ पनि पक्राउ परेका छन् । उनीहरुले राम्रो काममा लगाईदिन्छु भनी महिलाहरुलाई डर, त्रास देखाई प्रलोभनमा पारी यौनजन्य कार्यमा लगाउने गरेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेकालाई मानव वेचबिखन तथा ओसार पसार मुद्धामा ७ दिन म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाईएको छ ।