नव नियुक्त मन्त्रीलाई बधाई: नगरको कृषि, पर्यटन, भौतिक पूर्वाधार विकासमा सहयोग गर्न अपिल:

गण्डकी प्रदेश सरकारका नव नियुक्त मन्त्रीहरुलाई गलकोट नगरपालिकाका युवाहरुले बधाई तथा शुभकामना व्यक्त गरेका छन । ६ सदस्यीय युवा टोलीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, अर्थमन्त्री रामजी बराल, कानून, सञ्‍चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापा, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्र बुढा मगर, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खडका, युवा तथा खेलकुद मन्त्रालयका कार्यवहाक तथा प्रवक्ता रोनित गुरुङ, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलाई मन्त्रालयमै पुगेर बधाई ज्ञापन गरेको हो ।

सामाजिक संस्था घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा, थापा अर्गानिक फार्मका सञ्चालक बाबुराम थापा, युवा समाजसेवी रुद्र केसी, राम खत्री, भुमिराज थापा र मिन थापाले पुष्पगुच्छा, माला, खादा लगाएर मन्त्रीहरुलाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन । युवाहरुले गलकोट नगरको कृषि, पर्यटन, सडक, भौतिक पूर्वाधार, विभिन्न विषयमा समय सापेक्ष गोष्ठी, तालिम, प्रशिक्षण लगायतका योजनाहरु सम्वोधन गरिदिन मुख्यमन्त्री र विभिन्न मन्त्रालयमा अनुरोध गरेको टोलीका सदस्य रुद्र केसीले जानकारी दिए ।

भेटघाट, बधाई तथा अन्तरकृयामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सँगै अन्य मन्त्रीहरुले नव गठित गण्डकी प्रदेश सरकारले प्रदेशको विकास र समृद्धिमा टेवा पुराउने निती तथा कार्यक्रम ल्याईने बताएका छन ।