एमसिसी सम्झौता गोप्य रुपमा भइसक्यो: रावल

नेकपा एमालेका सांसद भीम रावलले सरकारले एमसिसी सम्झौता गरिसकेको दावी गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बिशेष समयमा रावलले तत्कालीन मन्त्रीबाट एमसिसी कार्यान्वयन सम्झौता गरिएको जिकिर गरे ।

उनले त्यसको प्रतिलिपि प्रतिनिधि सभामा पेश गर्नसमेत माग गरे । यो सम्झौता सँगै अरु थुप्रै गोप्य सम्झौता भएको उनले उल्लेख गरे । उनले भने–‘मैले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट गठित पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वमा जुन कार्यदल बनेको थियो त्यहाँ रहँदा धेरैजसो सम्झौताहरु पढ्ने अवसर पाएँ । तर केही सम्झौताहरु अझै प्राप्त हुन सकेन् ।’

एमसिसीबारे संसदले निर्णय गरेपछि मात्रै अरु सम्झौताहरु हुनुपर्ने र कार्यालयहरु खोल्नुपर्ने उनले बताए । उनले अमेरिकी अधिकारीहरुले वक्तब्य दिँदा एमसिसी हिन्द प्रशान्त रणनीतिक क्षेत्रको एउटा अंग भएको बताउने गरेको उल्लेख गर्र्दै नेपालमा बस्नेले भने त्यस्तो हैन भन्दै ब्याख्या गर्ने गरेको बताए । उनले अमेरिकी मन्त्रीको सट्टा नेपाली एमसिसीको बारेमा व्याख्याता हुन नसक्ने दावी गरे ।

उनले एमसिसी सम्बन्धी सम्पूर्ण कागजातहरु प्रतिनिधि सभामा पेश नगरिएको जनाए । उनले भने–‘प्रतिनिधि सभाका प्रत्येक सदस्यले त्यसको अध्ययन गर्न पाउनुपर्छ । त्यो सँगै गरिएका अन्य थुप्रै सम्झौताका प्रतिलिपिहरू छन्, ति प्रतिलिपिहरू प्रतिनिधि सभाका प्रत्येक सदस्यले पढ्न पाउनुपर्छ ।’