‘प्राकृतिक सम्पदा निजी क्षेत्रलाई नदेऊ


अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिले पोखरा उपत्यकाका विभिन्न सम्पदा लामो समयका लागि निजी क्षेत्रलाई दिने निर्णयको विरोध गरेका छन् । सेती नदीको खोँच, पातले छाँगो र रामघाट पोखरा महानगरले लामो समयका लागि निजी क्षेत्रलाई दिन लागेको छ ।

महानगरको कार्यपालिका बैठकले सार्वजनिक निजी साझेदारीमा यी सम्पदा निजी क्षेत्रलाई दिने निर्णय गरिसकेको छ । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपाल, सिटिजन्सा जुरी कास्की र नागरिक समाज कास्कीले बिहीबार विज्ञप्ति निकालेर यो निर्णय र सम्झौता कार्यान्वयन नगर्न माग गरेका छन् ।

राष्ट्रिय सम्पदाका अध्यक्ष विष्णुहरि अधिकारी, सिटिजन्स जुरी अध्यक्ष तिलक पराजुली र नागरिक समाज कास्की अध्यक्ष ईन्द्रकमल मानन्धरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा विज्ञ र सरोकारवालाले लामो समयदेखि खबरदारी गर्दा पनि यस्तो निर्णय हुनुलाई दुर्भाग्यपूर्ण भनिएको छ ।

सेतीनदी र पातलो छाँगो ४० वर्ष र रामघाट ३५ वर्षका लागि दिने महानगरको निर्णय छ । रामघाटमा बाँध बाँधेर गिटी, बालुवा उत्खनन र व्यवसायिक प्रयोजन गर्न अनुमति दिइएको छ । यसले धार्मिक, सांस्कृतिक संस्कारमा वाधा पुग्नुका साथै आर्थिक अपारदर्शिता र नोक्सानीसमेत हुने विज्ञप्तिमा उल्लेख छ ।