पहुँचबालाको दबाबपछि बागलुङमा खोप अभियान रोकियो

बागलुङमा खोप अभियान स्थगन गरिएको छ । बागलुङमा जारी कोरोनाविरुद्धको खोप अभियानमा पहुँचवालाले अनावश्यक दबाब र दुरुपयोग गरेको व्यापक गुनासोपछि खोप अभियानस्थल केन्द्रको निर्देशनमा स्थगन भएको छ ।

खोपका लागि लक्षित वर्ग नतोकेका कारण मन्त्रालयको निर्देशन नआउँदासम्मका लागि स्थगित गरिएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए । सरकारले लक्षित वर्गलाई खोप लगाउनका लागि दिएको निर्देशन अनुसार बागलुङमा खोप लगाइसकिएको र अब माथिबाट निर्देशन नआउँदासम्मका लागि स्थगित भएको हो ।

सरकारले तोकेको लक्षित वर्ग छुटेको भए ती व्यक्तिलाई भने खोप लगाइने खत्रीले बताए । सरकारले लक्षित गरेका करिब सबै नागरिकले खोप पाइसकेको र अर्को लक्षित वर्ग तोकी नसकेकाले खोप लगाउन नसकिएको उनको भनाइ छ ।

बागलुङमा अझै करिब १४ हजार डोज बाँकी छ । सरकारले अब बाँकी रहेको खोप कुन वर्गलाई दिने भनेर निर्णय गरिनसकेको उनले बताए । सरकारबाट नयाँ लक्षित वर्ग तोकिएपछि मात्रै खोप अभियानलाई अगाडि बढाइनेछ ।

बागलुङमा अहिलेसम्म कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । हालसम्म जिल्लामा ५१ हजार ४ सय ८७ ले खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । जिल्लामा जोन्सन एण्ड जोन्सन ११ हजारभन्दा बढी, भेरोसेल २२ हजार र कोभिसिल्ड १४ हजार ६४० ले लगाएको सुपरभाइजर खत्रीले जानकारी दिए ।