सांसदमा पुनर्वहालीको माग गर्दै पूर्व माओवादीका चार जना सर्वोच्च अदालत पुगेका छन्। पार्टी छोडेर एमाले प्रवेश गरेपछि माओवादीले कारवाही गर्दा लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर पदमुक्त भएका थिए।
आफूलाई स्पष्टीकरणसमेत नसोधी सांसद पदबाट हटाइएको भन्दै पुनर्बहालीको माग गर्दै उनीहरु सर्वोच्च अदालत पुगेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए। चैत २६ गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पत्रका आधारमा गरिएको कारवाही कानुन र माओवादीको विधान विपरीत भएको उनीहरुको दाबी छ।
चारै जनाले आफू नेकपा एमालेमा आधिकारिकरुपले प्रवेश नगरेको, माओवादी केन्द्र नामक पार्टी नै अवैधानिक रहेको, त्यस्तो पार्टीले गर्ने कारवाही मान्य हुन नसक्ने भन्दै सांसद पदबाट हटाउने निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दर्ता गराएका हुन्। आफूहरुले माओवादी त्यागेको पुष्टि अहिलेसम्म नभएको उनीहरुले दावी गरे। बिहीबार उनीहरूको रिटमा पेशीसमेत तोकिसकिएको छ।






