बागलुङमा सन्देशमुलक प्लेकार्ड सहितको डमी ट्राफिक प्रहरी

अव्यवस्थित शहरीकरण, साँगुरा सडक, बढ्दो सवारी प्रयोग, जथाभावी पार्पिङ, सडकमा निर्माण सामाग्री राखीनु, चालक तथा यात्रुमा ट्राफिक चेतनामा कमी लगायतका कारण अस्तव्यस्त बजारको ट्राफिक व्यवस्थापन प्रभावकारी गराउन एवं दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले बागलुङ बजारमा डमी ट्राफिकको प्रयोग सुरु गरिएको छ ।

बागलुङ जिल्लामा दुर्घटना न्युनीकरण तथा ट्राफिक नियमको पुर्ण पालना गराउनको लागि सन्देशमुलक प्लेकार्ड सहितको डमी ट्राफिक प्रहरीको प्रयोग सुरु गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको पहल एवं बागलुङ उद्योग बाणिज्य सघं, रोटरी क्लव अफ बागलुङ र स्थानीय शिव आचार्यको सहयोगमा गण्डकी प्रदेशमै पहिलो सुरुवाद को रुपमा बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारका विभिन्न ठाउँहरुमा डमी ट्राफिक राखिएको हो ।

साविकको धौलागिरी अञ्चलको सदरमुकाम समेत रहेको बागलुङ बजारमा सवारीसाधनको अत्याधिक चापका कारण ट्राफिक व्यवस्थापनमा थपिदै गइरहेको चुनौतिलाई न्यूनिकरण गर्ने उद्देश्यले डमी ट्राफिकको सुरुवाद गरिएको हो ।

“टाढाबाट झट्ट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने र ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुन्छ, जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख बद्रीनाथ शर्माले भने, ‘यसले कोरोना महामारीका बेला अभाव रहेको जनशक्ति व्यवस्थापनमा पनि सहयोग पुग्ने छ ’

“पहिलो चरणमा बागलुङको मध्य भाग लोकतान्त्रिक चोक, व्यस्त सडक क्याम्पसरोड राखि सुरुवाद गरिएको र ट्राफिक चोकमा सिसि क्यामरा सहितको आइलन निर्माण गरि राखिने तथा यो अभियानलाई जिल्लाका गलकोट, बुर्तिबाङ लगायत आवश्यक ठाउँमा बिस्तार गरिने योजना रहेको प्रमुख शर्माले बताए ।

ट्राफिक व्यवस्थापनमा प्रयाप्त जनशक्तिको अभाव रहेको समयमा डमिको प्रयोगलाई आम सर्वसाधारणहरुले सकारात्मक एवं सन्देशमुलक रुपमा हेरेका छन् ।