आमा समूहले निकाल्यो स्मारिका

पोखरा महानगरपालिका वडा नं ६ खहरेमा २०७० सालमा स्थापना भएको खहरे आमा समूहले प्रकाशित गरेको स्मारिका खहरे दर्पण शनिबार सार्वजनिक गरिएको छ ।

गण्डकी प्रदेश सांसद राजीव पहारीले खहरे आमा समूहले निकै उत्कृष्ट सामाजिक काम गर्दै आएको बताए । पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारीले आफ्नो संस्थाले गरेका गतिविधि संकलन गरेर पुस्तक प्रकाशित गर्दा अन्य समूह र आफ्नै पुस्तालाई पनि प्रेरणा मिल्ने बताए ।

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष विष्णुहरि अधिकारी, तेजनारायण पराजुली, समूहका सचिव भागिरथी थापा र उपाध्यक्ष सावित्री तिमिल्सिनाले बोलेका थिए ।

खहरे दर्पणका प्रधान सम्पादक लक्ष्मण थापाले पुस्तक प्रकाशनका चुनौतीबारे प्रकाश पारे । उनले पुस्तकले भावी सन्ततिलाई प्रेरणा दिनेसमेत बताए ।

समूहकी संस्थापक सहसचिव रमा लामिछानेले आमा पवित्रा लामिछानेको १६ औं दिनको पुण्यतिथिमा समूहलाई सहयोग गरिन् । कार्यक्रम समूहकी अध्यक्ष मैयाँ भट्टराई थापाको अध्यक्षतामा भएको थियो ।