पोखरेली सर्जकले सम्झे भानुभक्त

पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३३८ औं शृङ्खला सम्पन्न भयो ।

कोभिड–१९ को असरमा पनि पोयुसापले समता काव्य सन्ध्यालाइ निरन्तरता दिंदै आएको छ । २०८ औ भानुजयन्तीको सन्दर्भमा पोखरेली युवा साँस्कृतिक परिवारले भच्र्युल रुपमा भानुका रचनावाचन कार्यक्रम गरेको छ ।

कार्यक्रममा नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठान पूर्व कुलपति सरुभक्तले भानुले जस्तो लोकको हित हुने साहित्य लेख्नुपर्ने बताए । वर्षको एक दिन असार २९ वा त्यसैको हप्ता सेरोफेरोमा गरीने कार्यक्रमले मात्रै भानुको उचित सम्मान नहुने बताउँदै भानुका बारेमा अझ धेरै गर्न बाँकी रहेको औंल्याए ।

पोखरा प्रज्ञाप्रतिष्ठानका कुलपति पदमराज ढकालले अमेरिका बसाइमा पनि आँफुले साहित्य, कला र सङ्गीतको उत्थानमा लागिरहेको बताए ।

कार्यक्रममा सुबिन रिमाल, सुर्दशन पौडेल, सन्ध्या देवकोटा, सुमित्रा रिमाल, शोभा खनाल, रमा खतिवडा, अम्बिका प्रसाद भट्टराई, शिव संकल्प, शिव त्रिपाठी लगाएत कविहरुले भानुका रचनाहरु वाचन गरेका थिए ।

परिवारका साहित्य सँयोजक रिता अधिकारीले स्वागत मन्तव गरेकी थिइन् । संस्थाका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन पोयुसापका सचिव डा.चैतन्य अधिकारीले गरेका थिए ।