सरकारले यात्रुवाहक तथा मालबाहक सवारी साधनको भाडादर बढाएको छ ।
यातायात व्यवस्था विभागले बुधवार सूचना जारी गर्दै यात्रुवाहक सवारीको भाडा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको २० प्रतिशत र तराई बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा २६ प्रतिशतले वृद्धि भएको जानकारी दिएको हो ।
सार्वजनिक यातायातका सवारीहरुको भाडादर विभागको मिति असार २९ गतेको निर्णयअनुसार सोही मितिदेखि लागू हुने गरी भाडादर समायोजन गरिएको हो ।
भाडा निर्धारणका अन्य सूचकलाई विगत २०७२ सालदेखि यथावत राखी इन्धनलाई मात्रा आधार मानी भाडा समायोजन गरिएको विभागले जारी गरेको सूचनामा जनाइएको छ ।






