नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
अचानक तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग सहमति गरी सार्वजनिक भएका विप्लवले लामो समयसँग प्रचण्डलाई भेटेका थिएनन् । अचानक बुधबार विप्लवले खुमलटार गएर प्रचण्डसँग भेटघाट गरे।
सचिवालय सदस्य धर्मेन्द्र बास्तोलासहित खुमलटार पुगेका विप्लवले प्रचण्डसँग पूर्व माओवादी घटकहरुबीच एकताको प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
प्रचण्डको समर्थनमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्ट विप्लवले प्रचण्ड भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । विप्लवले तत्कालिन सरकारसँग भएको सहमति यो सरकारले कार्यान्वयन गर्छ कि गर्दैन भनेर जिज्ञासासमेत राखेका थिए ।
गत फागुन २१ गते सरकार र विप्लवबीच तीन बुँदे सहमति भएको थियो। ओली सरकारले सहमति पालन नगरेको विप्लव नेकपाको दाबी छ ।






