राष्ट्रिय कफी कपिङमा कास्की पहिलो

राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड, प्रादेशिक कार्यालय, पोखराले आयोजना गरेको राष्ट्रिय कफी कपिङ प्रतियोगिता २०७७ मा कास्की प्रथम भएको छ ।

कास्कीको माछापुच्छ्रे उत्तम कफी उत्पादक सहकारी अन्नपूर्ण १, ढिकुरपोखरी ८५.७५ अंकसहित प्रथम भएको हो । राष्ट्रिय कफी कपिङ ल्याब, काठमाडौं र पोखरामा प्राप्त १७ कफी नमुनाको कफी कपिंग गरी त्यसको स्वाद र गुणस्तर जाँचिएको थियो ।

जोएल हिमालयन अरविका विन प्रालिको कफी दोस्रो भएको छ । सिन्धुपाल्चोकका विभिन्न स्थानमा उत्पादन तथा संकलन गरी यसले कफी अन्तर्राष्ट्रिय बजारमा पठाउँदै आएको छ । जोएलले ८५.५ अंक पाएको छ । जिल्ला कफी सहकारी संघ काभ्रेले ८५.२५ अंकसहित तेस्रो स्थान पाएको छ ।

धौलागिरि अर्गानिक प्रोडक्ट, पर्वतबाट उत्पादित कफीले ८३ अंक प्राप्त गरी पाँचौ भएको छ । विश्व वजारमा कफीको स्वाद तथा गुणस्तर मापदण्ड निर्माण गर्ने संस्था स्पेसियाल्टि कफी एस्सोसियसनले कफी कपिङमा ८० भन्दा बढी अंक प्राप्त गर्ने कफीलाई बिशिस्ट गुण भएको कफीका रुपमा लिने गरेको छ ।

राष्ट्रिय कफी कपिङ ल्याब, काठमाडौं र पोखरामा प्राप्त १७ कफी नमुनाको कफी कपिंग गरी त्यसको स्वाद र गुणस्तर जाँचिएको थियो ।

प्रथमलाई २० हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रममा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशकी सचिव सबनम सिवाकोटीले नेपाली कृषकले उत्पादन गरको कफीले स्पेसियालिली ग्रेड प्राप्त गर्नु खुसीको कुरा भएको बनाइन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले कफी कपिङबाट नेपाली कफीको गुणस्तरमा सघाउ पुगेको र आगामी दिनमा विश्व बजारमा उत्पादन बढाउँदै जानुपर्ने उल्लेख गरे । कार्यकममा बोर्ड, पोखरा प्रमुख चन्द्र पुरीले नतिजामाथि प्रकाश पारेका थिए ।

गण्डकी प्रदेशमा ९ सय ५१ हेक्टरमा कफी खेती हुँदै आएको छ । यहाँको उत्पादन १ सय ७० मेट्रिक टनभन्दा बढी छ ।

कफी नेपालको रैथाने बाली नभई आयातीत बाली हो । अफ्रिकन जंगलको रैथाने मानिने कफी विश्वका ७० भन्दा धेरै देशमा पुगेको छ। कफी अहिले ब्राजिलमा सबैभन्दा धेरै खेती गरिन्छ । उच्च भौगोलिक क्षेत्रमा लगाउँदा कफीको गुणस्तर राम्रो हुने, कफीको स्वाद, बास्ना तथा सन्तुलित गुण हुने बताइन्छ ।

अहिले नेपालका ४२ जिल्लामा कफी खेती हुन्छ । २३ जिल्लामा व्यावसायिक कफी खेती गरिएकोराष्ट्रिय चिया तथा कफी बिकास बोर्डले जनाएको छ । नेपालमा उत्पादित कफी जापान, दक्षिण कोरिया, अमेरिका, अस्ट्रेलिया लगायत देशमा निर्यात भइरहेको छ ।

गण्डकीका ११ मध्ये ९ जिल्लामा कफी खेतीको सम्भावना छ । कफी खपत बागमती प्रदेशपछि गण्डकीमा नै बढी छ । गण्डकी प्रदेशमा ९ सय ५१ हेक्टरमा कफी खेती हुँदै आएको छ । यहाँको उत्पादन १ सय ७० मेट्रिक टनभन्दा बढी छ ।

कपिङ कफीको स्वाद र गुणस्तर मूल्यांकन गर्ने विशेष तरिका हो । कफीको वासना, स्वाद र गुणस्तर फरक फरक हुने भएकाले कपिङ गर्दा प्राप्त हुने अंकको आधारमा बजारमा कफीको मूल्य हुन्छ ।नेपालमा प्राकृतिक रुपमा उच्च गुणस्तरको कफी उत्पादन भए पनि नेपाली कफी कृषकले टिपाई, प्रशोधन तथा भण्डारणमा ध्यान नदिदा धेरै स्थानमा कफीको गुणस्तर मध्यम रहेको पाइन्छ ।