विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनुपर्ने बताएको छ । विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी ओलीको भनाइ सबै मानेकाले राष्ट्रपति भण्डारीले संविधानमाथिको मनपरीलाई साथ दिएको भन्दै पुनस्र्थापित संसदले महाअभियोग लगाउनुपर्ने बताएको हो ।
‘पछिल्लो समयमा निरन्तर प्रधानमन्त्री ओलीको कठपुतली बनेर राष्ट्रपति भण्डारीले संविधानमाथिको मनपरीलाई जसरी साथ दिँदै आएकी छिन्, त्यसलाई मध्यनजर गर्दा पुन स्थापित संसद्ले उनीमाथि महाअभियोग लगाउनुपर्छ भन्ने विवेकशील साझा पार्टीको ठहर छ,’ प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विवेकशील साझा पार्टीले संसद पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत पनि गरेको छ । उसले सर्वोच्चको फैसलाले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समयमा संविधानमाथि लगातार रूपमा गर्दै आएको मनपरी प्रहारलाई स्पष्टसँग संवैधानिक अनुशासनमा बाँधिदिएको पनि उल्लेख गरेको छ ।






