कास्कीको निषेधाज्ञा लम्बियो, होटल, रेस्टुरेन्ट नखुल्ने

कोभिड १९ को दोस्रो लहर नियन्त्रण गर्न कास्कीमा लागू गरिएको निषेधाज्ञाको अवधि लम्बिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बिहीबार जारी गरेको आदेशमा निषेधाज्ञा साउन ५ गते राति १२ बजेसम्म लागू हुने उल्लेख छ ।

बिहीबार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समिति (डिसिएमसी)को निर्णय अनुसार प्रशासनले अझै होटल, रेस्टुरेन्ट खोल्न बन्देज लगाइएको छ । पछिल्लो समय पर्यटन व्यवसायी र होटल, रेस्टुरेन्टका सञ्चालकहरुले सुरक्षा सावधानी अपनाएर होटल, रेस्टुरेन्ट खोल्न र त्यसअघि कोरोनाको खोपको व्यवस्था गर्न माग गरिरहेका छन् ।

यस्तै, सभा, जुलुस, सम्मेलन, सेमिनार, तालिम गर्न, मानिस भीडभाड गर्न, जात्रा, महोत्सव आदिलाई निषेध गरिएको छ । कास्कीमा सञ्चालन हुने निजी र सार्वजनिक सवारी जोरबिजोर प्रणालीमै चल्ने छन् । भौतिक रुपमा सञ्चालन हुने कक्षाहरु र परीक्षा ५ गतेसम्मका लागि नगर्न भनिएको छ ।

आफैं संलग्न हुनैपर्ने बाहेका मृत्यु संस्कारमा संलग्न नहुन र वैवाहिक कार्यक्रम गर्दा घरैमा बढीमा १५ जनाको उपस्थितिमा गर्न भनिएको छ । आदेश अवज्ञा गरेमा स्थानीय प्रशासन ऐन २०२८, संक्रामक रोग ऐन २०२०, कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ एवं अन्य ऐन बमोजिम कारवाही हुने आदेशमा उल्लेख छ ।