आजको मौसम, कहाँ कस्तो रहला ?

बिहीबार देशका धेरैजसो भागमा वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशकाका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना देखाएको छ ।

यी प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो, बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मनसुनी वायुको देशभर सामान्य देखि पूर्ण बदली रहेको र प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै, प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै, आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, लुम्बिनी, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।